मंग्पू | ४ मई | केशर मोक्तान: दार्जीलिंग पहाडी क्षेत्र मै प्रथम चोटि सुगन्धित फसलको लघु उद्योग मंग्पूमा आजदेखि शुरु भएको छ | औषधीय तेल जातीय पौधाहरुलाई पिसेर तेल निकाल्ने मशीन " मोर्डन डिस्टिलेशन प्लान्ट एक " (Modern Distillation Plants - I - Mungpoo) को उद्घाटन आज सिन्कोना एवम अन्य औषधीय पौधाहरुको निर्देशक डा० ज्ञानचन्द्र सुब्बाबाट गरियो | मंग्पू सिन्कोना बगान लाब्दा विभागीय रियांगटारमा (Reyangtar Mungpoo) उक्त लघु उद्योग शुरु गरिएको छ | सिन्कोनाको चीफ क्यामिस्ट मोह्मद फज्लुल करिमको अथक प्रयासमा यस उद्योग संचालन गर्न सक्षम भएको थाहा लागेको छ | यस सुगन्धित फसलको लघु उद्योग सफलतापुर्वक आज देखि संचालन भएकोमा सिन्कोना निर्देशकले चीफ क्यामिस्ट करिम साहब साथै सम्पूर्ण कर्मचारीवर्गलाई आभार व्यक्त गरेका छन् | हालमा यस उद्योगमा तेल जातीय औषधीय पौधाहरु जस्तै सिट्रोनिला, लेमोनग्रास, पचौली अनि खसखसको तेलहरू निकाल्न सकिने चीफ क्यामिस्टले बताएका छन् भने यस एमडीपी मेशीनबाट एक पल्टमा हरियो १५० कि० ग्रा० साथै सुक्खा ५० कि० ग्रा० सिट्रोनिलालाई पकाएर १.५ लिटर तेल निकाल्न सकिनेछ जसको मुल्य बजारमा प्रति लिटर सात सय रुपियाँ भन्दा माथि रहेको साथै दिनमा चारपल्ट भन्दा अधिक मात्रामा यस मशीनलाई प्रयोग गर्न सकिने चीफ क्यामिस्टले बताएका छन् | बगान निर्देशक डा० सुब्बाले पहाडमा यस प्रकारको सुगन्धित फसलको लघु उद्योग प्रथम चोटि मंग्पूमा शुरु भएको बताउँदै आफ्नै प्रयास तथा स्थानीय राजनैतिक पार्टीको सहायतामा यो उद्योग शुरु भएको बताएका छन् | सस्तो र सजिलो तरिकाबाट औषधीय जातीय पौधाहरुलाई पिसेर तेल निकाल्न सकिने भएको कारण नै हामीले सिन्कोनामा यस उद्योग शुरु गरेको भनी डा० सुब्बाले जनाएका छन् | औषधीय जातीय तेलको बजार मुल्य हालमा लेमोनग्रास सात सय रुपियाँ प्रति लिटर, सिट्रोनिला सात सय रुपियाँ प्रति लिटर, पचौली ३ हजार रुपियाँ प्रति लिटर र भेटिभर ( खसखस) २० हजार रुपियाँ प्रति लिटर रहेको पनि निर्देशकले बताएका छन् | यस उद्योगको निम्ति आगमी दिनमा सिन्कोना बासिन्दाले मात्र नभएर सिटोंग बस्तिका बासिन्दाहरुले पनि औषधीय घाँस ल्याउन सक्ने र सिन्कोनाले उक्त घाँसलाई वरिपरि गरीब परिवारको आयश्रोत बढाउनको निम्ति किन्ने सिन्कोना निर्देशकले जानकारी दिए |
आज यस उद्योगको उद्घाटन अवधि दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सचिव गगन राई, मोर्चा मंग्पू जोन प्रदीप छेत्री र सह व्यवस्थापक जे० सादाको पनि उपस्थिति रहेको थियो |

Post a Comment
We love to hear from you! What's on your mind?