सिलिगुडी, २६ जनवरी: युराशिया रेयुकाई समाज विकाश केन्द्र, सिलिगुडी एवं यंग बोइज क्लब, बंकिमनगरको संयुक्त तत्वधानमा भारतको ६५ औं गणतन्त्र दिवस समारोह बंकिमनगर स्थित भोटिया मैदानमा विभिन्न कार्यक्रम सहित भव्यरुपमा आयोजित गरियो | समारोहको शुभारम्भ मुख्य अतिथि बिजेन्द्र सुन्दासको बाहुलीबाट झण्डोत्तलन गरि राष्ट्रिय गीत प्रस्तुत गरियो | त्यसपछि श्री किरण शर्माले स्वागत भाषण एवं कार्यक्रमको उदेश्य माथि प्रकाश पारेपछि स्थानीय कलाकारहरुले विभिन्न आकर्षक देशभक्तिले ओतप्रोत सांस्कृतिक नृत्य प्रस्तुत गरे |
समारोहको मुख्य आकर्षण एक दिने फूटबल प्रतियोगिता राखिएको थियो जसमा सिलिगुडी वरिपरिका १२ वटा दलहरुले भाग लिएका थिए | प्रतियोगिताको फाइनल खेल शिवमन्दिर, बंकिमनगर एवं लामा एकाडेमी बीच सम्पन्न भयो | जसमा शिवमन्दिरले लामा एकाडेमीलाई ट्राइब्रेकरमा पराजित गरि विजयी हासिल गरे | विजयी एवं उपविजेता दललाई पुरस्कार स्वरूप ट्रफी र नगद ७ हजार रुपियाँ र उपविजेतालाई ५ हजार नगद राशी प्रदान गरियो | प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडी, गोल किपर र सबैभन्दा धेर गोल गर्ने खेलाडीलाई पनि पुरस्कृत गरिएको थियो |
युराशिया रेयुकाईका महासचिव श्री सुमन कुमार बस्नेतले सभापतित्व गरेको सो समारोहमा दार्जीलिंग जिल्ला त्रिनामूल कांग्रेसका सदस्य श्री रतन पाल, यंग वोइज क्लबका श्री असिम तामांग, श्री लवांग तामांग र पुरन छेत्री विशिष्ट अतिथिका रुपमा उपस्थित थिए | समारोहको संचालन श्री सुशन प्रधानले गरेका थिए |

Post a Comment
We love to hear from you! What's on your mind?