गोर्खा जनमुक्ति मोर्चा दार्जीलिङ पहाडमा
हुने कुनै पनि चुनाउ जित्न सक्षम छ। यसैले यहाँ हुने कुनै पनि चुनाउको लागि
पार्टी पूर्णरूपले तयार रहेको आज दावी समेत गरेको छ।
आज यहाँको एक होटलमा 6 घण्टाभन्दा अधिक
समयसम्म गोजमुमो केन्द्रिय समिति कोर कमिटीको बैठक चलेको थियो। सोही
बैठकपछि पार्टी प्रवक्ता सुरज शर्माले भने-गोजमुमोले दार्जीलिङ पहाड़मा
चुनाउ चाहन्छ र पञ्चायतदेखि सबै निकायको चुनाउ हुन आवश्यक छ। आज़ यसै विषय
लिएर कोर कमिटीको बैठकमा चर्चा-परिचर्चा भएको थियो। यदि पहाड़मा कुनै पनि
चुनाउ हुन्छ भने गोजमुमो पूर्णरूपले तयार छ।
यसैबारे कोर कमिटी सदस्या छिरीङ दाहालले
पञ्चायत चुनाउको सन्दर्भ झिक्दै दार्जीलिङ पहाडमा धेरै वर्षदेखि पञ्चायतको
चुनाउ नभएको कारण ग्रामीण क्षेत्रका जनता विभिन्न सुविधा-सहुलियतबाट वञ्चित
भइरहेको बताइन्। उनले भनिन्-चुनाउ एक गणतान्त्रिक प्रणाली हो, यसैले
पार्टीले दार्जीलिङ पहाडमा पञ्चाय्तको चुनाउ पनि होस् भन्ने चाहन्छ।
यसका साथै जीटीएको चुनाउ सम्बन्धमा
प्रश्न गर्दा उनले यदि राज्य सरकारले जीटीएको चुनाउ भोलि नै घोषणा गर्छ
भने गोजमुमो त्यसको लागि पूर्णरूपले तयार छ अनि उक्त चुनाउ जितेर पनि
देखाइनेछ। उनले दार्जीलिङ पहाडमा हुने कुनै पनि चुनाउ जित्न पार्टी सक्षम
रहेको बताउँदै पञ्चायतको चुनाउ दुइ स्तरीय हुनपर्ने पनि माग गरिन्। एक
स्तरीय पञ्चायत चुनाउले जनतालाई कुनै सुविधा उपलब्ध हुँदैन। यसैले
दार्जीलिङ पहाडमा जीटीए भएको कारण दुइ स्तरीय पञ्चायत चुनाउ हुनैपर्छ।
यसरी नै गोर्खा जनमुक्ति मोर्चाले आगामी
26 सितम्बरको दिन भाजपाले बंगाल बन्द डाकेको बताउँदै उक्त दिन दार्जीलिङ
पहाड खुल्लै रहने पनि घोषणा गर्यो। पार्टी प्रवक्ता सुरज शर्माले
भने-इस्लामपुरमा भएको घट्नामा परेर दुइजना विद्यार्थीको मृत्यु भयो, त्यसको
लागि गोजमुमोले पनि शोक व्यक्त गर्छ। तर भाजपाले डाकेको बन्दलाई गोजमुमोले
स्वीकार गर्नेछैन। भाजपाले केवल राजनैतिक रोटी सेक्नको लागि आगामी 26
सितम्बर बंगाल बन्दको आह्वान गरेको हो। गत वर्ष दार्जीलिङ पहाडमा 13 जनाको
मृत्यु भयो, तर त्यस समय भाजपाले एक शब्द पनि बोल्ने काम गरेन। यति मात्रै
होइन, गोजमुमो अध्यक्ष विनय तामाङले अघिबाटै दार्जीलिङ पहाडलाई बन्दमुक्त
राख्ने घोषणा गरिसकेका छन्। यसैले आगामी 26 सितम्बर दार्जीलिङ पहाड
पूर्णरूपले खुल्ला रहनेछ। गोजमुमो अध्यक्ष विनय तमाङ, अनित थापा,
दार्जीलिङका विधायक अमरसिंह राई. खरसाङका विधायक डा. रोहित शर्मा आदिको
विशेष उपस्थितिमा आयोजना भएको यस सभामा पार्टीको स्थापना दिवस पालनबारे पनि
चर्चा भएको शर्माले जानकारी गराए।
उनले भने-आगामी 7 अक्टोबरको दिन
दार्जीलिङ, खरसाङ, कालेबुङका साथै विभिन्न स्थानहरूमा पार्टीले आफ्नो
स्थापना दिवस पालन गर्नेछ, जसबाट नै पार्टीले जीटीएको एक वर्षे कार्यकालको
उपलब्धिहरू पनि जनताअघि पेश गर्ने तय गरेको छ। विनय तामाङले जीटीए
अध्यक्षको कार्यभार ग्रहण गरेको एक वर्ष पूर्ण भयो, यस एक वर्षको अवधिमा
जीटीएले के-कस्ता विकासका कार्यहरू गरिसकेको छ। यसबारे पार्टीले जनताअघि
हिसाब पेश गर्नेछ। ताकि जीटीएले गरेका विकासका कार्यहरू जनताले पनि
पारदर्शी ढङ्गले बुझ्न सकोस्। यसरी नै पार्टीले आजको सभामा चियाश्रमिकहरू
बस्दै आइरहेको जमीनको पर्जा-पट्टा, डीआई फण्डको जमीन आदिबारे पनि व्यापक
चर्चा-परिचर्चा गरेको पार्टी प्रवक्ता शर्माले बताए। पर्जा-पट्टाको लागि
अघिबाटै कमिटी गठन भइसकेको छ भने डीआई फण्ड जमीनको लागि पनि अलगै कमिटी
बनिनेछ।
http://pratibymba.com
Post a Comment