गोर्खा जनमुक्ति मोर्चाले भारतीय जनता
पार्टीले इस्लामपुरमा दुई विद्यार्थीको मृत्युलाई राजनीतिकरण गरेर बंगाल
बन्द बोलाए पनि दार्जीलिङ पहाड खुल्ला रहने बताएको छ।
गोर्खा जनमुक्ति मोर्चा दार्जीलिङ महकुमा
समितिका प्रवक्ता सन्दीप छेत्रीले यसबारे एक विज्ञप्ति जारी गर्दै भनेका
छन्-गोर्खा जनमुक्ति मोर्चाले केही दिनअघि मात्र पार्टी केन्द्रिय कोर
समितिको सभामा पार्टी अध्यक्ष विनय तामङ, महासचिव अनित थापाको प्रमुख
उपस्थितिमा भाजपाको कुनै पनि कार्यक्रमलाई समर्थन नजनाउने निर्णय लिइएको
थियो। जुन विद्यार्थीहरू गोली लागेर मारिए उनीहरूप्रति गोर्खा जनमुक्ति
मोर्चाको समवेदना छ, तर भाजपाले ती विद्यार्थीहरूको मृत्युलाई लिएर राजनीति
मात्रै गरिरहेको छ।
भाजपाले 2019-को चुनाउलाई हेरेर बंगाल
बन्द बोलाएको हो, जसको गोजमुमोले घोर प्रतिवाद जनाउँदछ। भाजपाले दुइ
विद्यार्थीको मृत्युमा बंगाल बन्द बोलाउन सक्छ भने 2017-मा अलग राज्यको
मागमा यहाँ 13 जना शहीद हुँदा भाजपाको मुखबाट किन समवेदनाको एक शब्द पनि
निस्किएन? एनडीएको 29 वटा घटक दलमध्ये 2017-सम्म गोजमुमो पनि एक दल थियो,
तर गोजमुमोलाई दुःख पर्दा एनडीएको प्रमुख दल भाजपा कहाँ थियो? गोर्खाहरूलाई
महाधोका दिने दल भाजपा भएकोले कुनै पनि हालतमा गोजमुमोले भाजपाको बंगाल
बन्दलाई समर्थन गर्नेछैन।
उनले भने-भाजपा दार्जीलिङ जिल्ला अध्यक्ष
मनोज देवानले बन्दमा दार्जीलिङलाई छूट दिइएको छ भन्ने बयान दिएका छन्, यो
हाँस्यास्पद हो। देवानलाई राम्रोसँग थाह छ, दार्जीलिङले अलग राज्यको माग
गरे पनि अहिले दार्जीलिङ बंगालको अधीनमा नै छ। यसैले उनले भाजपाको
दार्जीलिङ पहाडमा दाल नगल्ने हुँदा भाजपाको इज्जत बँचाउन उक्त बयान दिएका
हुन्। अब पहाडले भाजपालाई कहिले पनि भरोसा गर्नेछैन, छेत्रीले भने। उनले
भने-गोजमुमो अध्यक्ष विनय तामाङले विगत दिनहरूमा नै अब पहाडमा बन्द हुनेछैन
भनेर स्पष्ट भनिसकेका छन्, यसैले २६ सेप्टेम्बर पहाड बन्द हुनेछैन। यसैले कोही पनि
असमञ्जसमा नपरिदिने पनि उनले आह्वान गरेका छन्।
http://pratibymba.com/
Post a Comment