मंग्पू | केशर मोक्तान: मंग्पू पी० डब्ल्यु० ( स्टेट हाइवे ) लाई मंग्पू नालीडाँडा फाटकदेखि १२ कि० मी० रम्बी जिरो पोइन्टसम्म चौडादार गर्ने कार्य युद्धस्तरमा भइरहेको छ | उक्त सडकलाई १८ फीट अथवा साँढे पाँच मिटर पूर्ण अलकत्रे सडकको रुपमा बनाउने पी० डब्ल्यु विभागका अधिकारीले बताएका छन् | यसरी चौडादार बनाउने कार्यमा उक्त सडकको बिशेष गोलाईहरु कटिंग गरी फराकिलो गर्ने विभागले निर्णय लिएको छ | हालमा उक्त सडक चार मिटर रहेको छ भने सम्बन्धित विभागको तर्फबाट एक मिटर आधा बढाउने भएको छ | यस सडक चौडादार बनाउने कार्यको निम्ति पी० डब्ल्यु विभागले दुई करोड अठाइस लाख खर्च गरिरहेको छ | नाली डाँडा फाटकदेखि मंग्पू बस स्ट्याण्ड सम्म पाँच सय मिटर सडकलाई पनि पी० डब्ल्यु विभागले चाडै नै चौडादार गर्ने भएकोले यस क्षेत्रको घर तथा पसलहरुको केही अंश काटिने भएको कारण आज स्थानीय पी० डब्ल्यु० डी० बंगलोमा सह अभियन्ता मिहिर सरकार, ओभरसियर प्रणय लामा अनि मंतोस सरकार, मोर्चा मंग्पू जोन सभापति प्रदीप छेत्री, सचिव रतन लामा, नाली डाँडा ब्यापारी संगठन सचिव बुध कुमार थापा, सभापति सतन तामांग, नाली डाँडा सृजना कल्याण समिति सभापति सुबास राई तथा स्थानीय ठेकादारहरु माझ एक सभा सम्पन्न भयो | सभामा निर्णय लिए अनुसार उक्त सडकको साढे पाँच मिटर चौडादार गर्दा भेटिने घर तथा पसलहरुको खुड्किलो तथा छतहरु पूर्णरुपले मालिक स्वयमले आपसी सुझबुझमा हटाउन पर्ने पी० डब्ल्यु० अधिकारीवर्गले बताएका छन् | यस विषय लिएर नाली डाँडा बिकाश एवम संरक्षण समितिले सम्पूर्ण घर तथा पसलहरुको मालिकवर्गलाई आगमी चौध तारिख मार्चको दिन एक सभा बस्ने भएको छ | सभा पछि पी० डब्ल्यु विभाग अधिकारीवर्गले नाली डाँडा क्षेत्र स्थलगत निरिक्षण पनि गरे | मंग्पूको उक्त स्टेट हाइवेलाई चौडादार गर्नपर्छ भनी मोर्चा मंग्पू जोनले सरकार समक्ष माग गरेको थियो भनि जोन सचिव रतन लामाले बताएका छन् | यस सडकलाई चौडादार बनाउनको निम्ति खर्सांग महकुमा विधायक डा० रोहित शर्मा एवम रतन थापा मंग्पू लाठ पन्चर समष्टि संयोजक तथा केन्द्रिय सांगठनिक सचिवको महत्वपूर्ण योगदान रहेकोले उनीहरु प्रति मंग्पू जोन गोजमुमोले आभार व्यक्त गरेका छन् | उक्त सडक चौडादार निर्माण गर्नको निम्ति सिन्कोना विभाग र कालेबुंग विधुत विभागले एन० ओ० सी० समेत दिएको कुरा गोजमुमो सचिव रतन लामाले बताएका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?