लाब्दा खेलकुद समितिको तत्वधानमा आयोजित दुई दिवासीय खेलकुद समारोहको पहिलो दिन आज भव्यताको साथ सम्पन्न भयो | लाब्दा विभाग स्थित ग्राम सेवक प्राथमिक पाठशाला मैदानमा सम्पन्न उक्त खेलकुद समारोहमा ठुलीकान्छी तामांग द्वारा रिबन काटेर मंच उद्घाटन गर्दै शुरु गरिएको कार्यक्रममा सिन्कोना व्यवस्थापक तथा कार्यक्रमको मुख्य अतिथि जेसव सादाको बहुलीबाट राष्ट्रीय त्रिरंगा झण्डा उत्तोलन गरिएको थियो | लाब्दा विभागीय भारप्राप्त ग्याङमेन मदन राईको सभापतित्वमा सम्पन्न गरिएको समारोहलाई किरण पाख्रीन, बीबी प्रधान, बानिरा गोतामे अनि मुनाल घिसिंगले संचालन गरेका थिए जसमा मुनाल घिसिंग द्वारा स्वागत सम्भाषण प्रस्तुत गरिएको थियो | पहिलो दिनको कार्यक्रममा मङपु आउट पोस्ट प्रभारी सुमन लोहार संगै गाउँका शिक्षक –शिक्षिकागण, बरिष्ठ नागरिक आदि पनि अतिथिको रुपमा आमन्त्रित साथै उपस्थित रहेका थिए |
कार्यक्रममा विभागका केटा अनि केटी प्रतियोगीहरुलाई लिएर १०० मिटर दौड, स्मरण जाँच, सन्तुलन दौड, हिसाब मिलाउने खेल, चट्टी नघाई, पालो फेर्ने दौड आदि खेलहरु संचालन गरिएको थियो जसमा प्रतियोगीहरुले सक्दो अंश ग्रहण गरेका थिए भने बिजयी प्रतियोगीहरुबाट नै यस वर्षको मङपु जन मैदानमा सम्पन्न हुने वार्षिक दिपावली खेलकुद समारोहको निम्ति चयन गरिने समितिले जनाएको छ | यी खेलहरुमा अंश ग्रहण गर्दै सबैभन्दा बेसी ट्रफी जित्न सक्षम भएकी सिवाङगी पाख्रीनलाई पहिलो दिनको खेलकुद समारोहको उत्कृष्ट खेलाडी चयन गर्दै ट्रफी प्रधान गरिएको थियो | आजको कार्यक्रमको मुख्य आकर्षण एक हजार मिटर दौड खुल्ला केटा अनि केटीहरु माझ राखिएको थियो जसमा केटाहरुबाट पहिलो बिक्रम थापा कालेबुंग, नयन तामांग कालेबुंग अनि तेश्रो बिस्वाश मंगर लंकु चयन भएको थियो भने केटीहरुमा पहिलो सोनिया राई रोलक बस्ती, दोश्रो दिक्षा तामांग लाब्दा विभाग अनि तेश्रो सिवाङगी पाख्रीन लाब्दा विभागलाई चयन गरियो | सबै विजयी प्रतियोगीहरुलाई उपस्थित अतिथिहरुको बाहुलीबाट मेडल संगै नगद राशी पारितोषिकको रुपमा वितरण गरियो | अन्तमामा कार्यक्रमका मुख्य अतिथि सिन्कोना व्यवस्थापक जेसव सादाको सम्भाषणले कार्यक्रम अन्त भएको थियो भने भोलि अर्थात १६ अक्टुबरको खेलमा बिशेष आकर्षण म्याराथन दौड खुल्ला केटा अनि केटीहरु माझ जोगीघाट देखि कार्यक्रम मैदानसम्म कुदाइने भएको छ जसको निम्ति इच्छुक प्रतियोगीहरुलाई समयभित्र नै समितिसित सम्पर्क गर्ने अनुरोध गर्दै सम्पूर्ण खेलप्रेमी दर्शन महानुभावहरुलाई दोश्रो दिनको कार्यक्रममा पनि समितिले हार्दिक स्वागत जनाएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?