आगामी 25 अक्टोबरको दिन शहीद वरूण भूजेल शहीद भएको दिन भएकोले उक्त दिनलाई गोर्खाल्याण्डको निम्ति शपथ दिवस-को
रूपमा पालन गर्ने विमल गुरूङले आह्वान गरेको लगत्तैपछि गोजमुमो अध्यक्ष
विनय तामाङले 2007 देखि यता वरूण भूजेललगायत अन्य शहीद बन्नुमा विमल गुरूङ
नै जिम्मेवार रहेको उल्लेख गर्दै विमल गुरूङले उक्त दिनलाई शपथ दिवसको
रूपमा होइन तर पश्चताप दिवसको रूपमा पालन गरून् भनी व्यङ्ग्य कसेका छन्।
विनय तामाङले आज साँझपख एउटा प्रेस विज्ञप्ति जारी गरेका छन् जसमा यसो
भनिएको छ-
शहीद वरूण भूजेललगायत अन्य हाम्रा गोर्खे आफन्तहरूलाई
शहीद बनाउने परिवेश तयार पार्ने विमल गुरूङ अनि रोशन गिरीलाई हामी शहीद
वरूण भूजेलको शहादत दिवसलाई शपथ दिवस- को रूपमा होइन तर पश्चताप दिवस-को
रूपमा पालन गरून् भनी सुझाउ दिँदछौं।किनभने हरेकपल्ट गोर्खाल्याण्डको नाममा
गोर्खाल्याण्डप्रेमीहरूलाई वलिवेदीमा चड़ाएर उनीहरूले सत्ता हत्याउने अनि
आफ्नो पराक्रम प्रदर्शन गर्ने काममात्रै गरेका छन्। यसैले अझै पनि उनीहरूले
पश्चताप गरेनन् भने बौद्धिक एवं शिक्षित बन्दै गइरहेको गोर्खाहरूको भावी
पीढ़िले उनीहरूलाई कदापि माफी गर्ने छैनन्।
यो कटु सत्य हो कि विमल गुरूङ अनि रोशन
गिरीले शहीदहरूको शहादतलाई सिढ़ी लगाएर नै आफ्नो राजनैतिक स्वार्थ पूरा
गरेको पनि तामाङले आरोप लगाएका छन्।तामाङले आरोप लगाएअनुसार, 2007 सालमा
गोर्खा जनमुक्ति मोर्चाको स्थापनापछि शहीद प्रमिला शर्माको शहादतको फायदा
उठाउँदै सुवास घिसिङलाई पहाड़बाट धम्कीपूर्ण तरीकाले खेदौरे लगाएर उनीहरूले
पहाड़को राजनैतिक बागडोर हत्याए। त्यसपछि अकबर लामा अनि 8 फरवरी 2011 मा
सिप्सुका शहीदहरू क्रमैले नीता खवास, विमला राई, विक्की लामाहरूको शहादतलाई
सिढ़ी बनाएर विमल गुरूङले लगत्तै जुलाई 2011 मा गोर्खाल्याण्डको साटो
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा सहीछाप गरी जीटीएको चीफ एक्जीक्युटिभ
बने। यसपछि पुनः तेलेङ्गना राज्य गठन हुँदा जनाक्रोसलाई साम्य पार्न जुलाई
2013 मा विमल गुरूङले जीटीएको चौकी त्यागेको नाटक गरे अनि त्यसपछि
गोर्खाल्याण्डको निम्ति आत्मदाह गर्ने अमर शहीद मङ्गलसिहँको शहादतलाई सिढ़ी
बनाएर फेरि केही दिनपछि लगत्तै जीटीए चीफको रूपमा दिसम्बर 2013 मा
कलकत्तामा शपथ ग्रहण गरे।विमल गुरूङ सत्तामा रहँदा नै मदन तामाङको
हत्याकाण्ड जस्तो घटनाहरू घटेको पनि सर्वविदित रहेको उल्लेख गर्दै तामाङले
2007 सालदेखि शहीदहरूको बलिदान अनि गोर्खाल्याण्डको सपनालाई बेच्दै आउनेहरू
विमल गुरूङ अनि रोशन गिरी नै रहेको पनि आरोप लगाएका छन्।
105 दिनको आन्दोलनमा शहादत प्राप्त गर्ने
अमर शहीद वरूण भूजेललगायत अन्य सबै शहीदहरू क्रमैले शहीद विमल शाशकंर,
महेश गुरूङ, सुनिल राई, टाँसी भोटिया,सुरज भूसाल, समिर गुरूङ, अशोक तामाङ,
आशिष तामाङ, दावा छिरीङ भोटिया, रोमिला राई आदिप्रति हामी नमन गर्दछौं।
साँचो ह्रदयले श्रद्धांजलि अर्पण गर्दछौ। तर आफू सुरक्षित बसेर जनतालाई
निधारमा गोली थाप्न लगाउने अनि यस प्रकारको हिँसात्मक स्थिति सृजना गर्ने
कारक तत्वहरूको हामी खुलेर विरोध गर्दछौं। गोर्खाल्याण्डको निम्ति धेरैलाई
शहीद बन्न उक्साउने, सैयौंलाई जेलमा सड़ाउने तर आफू चाहिए जेल जानसमेत
डराउने अनि जनतालाई भने भावनामा डुबाएर शहीद बन्न अह्राउने नेताहरू
गोर्खाल्याण्डको निम्ति होइन तर सत्ताप्रेमी हुन्।आजसम्म पनि उनीहरू
गोर्खाल्याण्डको निम्ति होइन तर जेल जानुपर्ने डरलेमात्रै भाग्दै
हिड़िरहेका छन्।यदि उक्त दावी झूटो हो भन्छन् भने रोशन गिरी अनि विमल
गुरूङले गोर्खाल्याण्डको निम्ति भनेर एकैदिन पनि जेल गएको अथवा अनशनहरू
बसेको रिकर्ड देखाउन् भनी हामी चुनौती दिँदछौं,तामाङले विज्ञप्तिमा यसो पनि
भनेका छन्।
गोर्खाल्याण्ड आफूहरूको मूल माग रहेको
दावी गर्दै उक्त संवैधानिक मागलाई संवैधानिक एवं बौद्धिक आन्दोलनमार्फत नै
हासिल गर्ने पनि उनले बताएका छन्। गोर्खाल्याण्डप्रेमीहरूलाई मारेर होइन तर
उनीहरूलाई बचाएर गोर्खाल्याण्ड राज्य गठन गर्ने प्रतिवद्धता जाहेर गर्दै
यसको निम्ति देश, काल अनि परिस्थिति अनुकूल बनाउनु आवश्यक छ तथा आफूहरू
त्यसैको पूर्वाधारहरूको विकास गर्न लागिपरेको पनि उनको भनाइ छ। देशको
निम्ति रगत बहाउने गोर्खाहरूले अपमानित बनेर होइन तर सम्मानित बनेर नै
एकदिन गोर्खाल्याण्ड थाप्नेछ। यो हाम्रो प्रतिवद्धता हो, तामाङले भनेका
छन्।
http://pratibymba.com/

Post a Comment
We love to hear from you! What's on your mind?