13 जनवरी (कालेबुङ)प्रदीप लोगागुन:- पूर्वोत्तर राज्यहरुलगायत छिमेकी राष्ट्र भुटानलाई जोड्ने बाघपूलको संरचना चर्केको घट्नालाई केन्द्र गरी बिहीबार कोलकोतास्थित जादवपुर विश्वविद्यालयको निर्माण अनि अभियन्तिकी विभागका इञ्जीनियरहरुले पूलको गहन सर्वेक्षण गरेका छन। जदवपुर विश्वविद्यालयका प्रोफेसरहरु एस सरस्वती अनि के बन्धोपाध्यायलगायतका सर्वेक्षण दलले आज बाघपूलको संरचनाबाट उच्च स्तरीय जाँचको निम्ति पूलको निर्माणमा प्रयोग भएका सामग्रीहरु लगेर गएका छन। यद्यपि, बाघपूलको अवस्था सोचेअनुरुप खराब नरहेको विशेषज्ञहरुले बताएका छन। पूलको स्थलगत निरीक्षण गरेर आज लगिएको निर्माण सामग्रीहरुको अल्ट्रा साउण्ड जाँच अनि रिबोण्ड जाँच गरेपछि मात्र बाघपूलको भविष्यबारे ठोस कुरा बाहिर आउन सक्ने उनीहरुको भनाई छ। यस जाँचले पूलको भार थेग्न सक्ने क्षमताबारे थाहा लाग्ने छ। इञ्जिनियरहरुको दलले आफ्नो रिपोर्ट बुझाएपछि मात्र बाघपूल हालको अवस्थाबारे स्पष्ट हुने बताइएको छ। तथापि, यस पूलको बढ्दो उमेर र ओभरलोड वाहनहरुको चलाचलको कारण यसको स्थिति बिस्तारै शोचनीय बनीरहेको छ। यस पूलको अस्तित्व र महत्वलाई अक्षुण्ण राख्न सम्बन्धित बिभागले ठूला वाहनहरुको आवागमनमा पूर्णरुपले प्रतिबन्ध लाउनु पर्ने सिफारिस गरेको छ। ठूला वाहनहरुको निम्ति अन्य वैकल्पिक व्यवस्था गरिनु पर्ने सर्वेक्षण दलको भनाई छ। ब्रिटिशको समयमा निर्माण गरिएको यस बाघपूलले डूवर्स र पूर्वोत्तर क्षेत्रका राज्यहरुलाई देशको बाँकी क्षेत्रसँग जोड्ने कार्य मात्र गर्दैन तर यस निर्माणको विशिष्ठ शैलीको कारण पनि यो पूल दर्शनीय र आकर्षक छ। जादवपुर विश्वविद्यालयको सर्वेक्षण दलले आफ्नो रिपोर्ट सम्बन्धित मंत्रालयलाई बुझाउने बताइएको छ। आर्क ढाँचामाथि निर्माण गरिएको यो पूल देशकै फरक शैलीका पूलहरुमध्ये एउटा हो। ब्रिटिश सरकारले सन 1937मा यो पूलको निर्माण गरेको थियो। यसको शिलान्यास तत्कालिन राज्यपाल सर जोन एण्डरसनको बाहुलीबाट 5 नोभेम्बर 1937मा गरिएको थियो। बाघपूलको डिजाइन तत्कालिन सुपेरिटेण्डिङ इञ्जिनियर जोन चेम्बर्सले गरेका थिए।
सर्वेक्षण दलका प्रमुख प्रो. एस सरस्वतीले पूलको अवस्था साह्रै शोचनीय नरहे पनि ठूला वाहनहरुको चलाचल भने पूर्ण रुपले बन्द गरिनु पर्ने सुझाउ दिएका छन।
यता, राष्ट्रीयराजमार्ग ,सर्कल 3-का सुपेरिटेण्डिङ इञ्जिनियर एआर मोडकले सर्वेक्षण दलको रिपोर्ट पछि पूलको सुरक्षा र संरक्षणको निम्ति विभागीय पहल गरिने बताएका छन।
Post a Comment
We love to hear from you! What's on your mind?