आज २२ श्रावण कवि गुरु रबिन्द्रनाथ ठाकुरको पुण्य तिथिमा पनि मङपुमा स्थित कविगुरुको संग्राहलय शुनसानमै बित्यो | कविगुरुको पुण्यतिथिलाई स्मरण गर्दै कालेबुङ बिज्ञान केन्द्रका केयर टेकर डा० भोज बहादुर गुरुङ यस संग्राहलय आइपुगेका थिए भने केवल संग्राहलयका केयर टेकर शिशिर रावत अनि डा० गुरुङ मात्रैले गुरुको स्मरण गर्दै दीप जलन अनि खादा अर्पण गरेर पुण्य तिथि पालन गरेको छ | डा० भोज बहादुर गुरुङ जसले केही वर्ष अघि मङपु अनि टेगुर नामक मङपु अनि रबिन्द्रनाथ ठाकुरको इतिहास बोकेको पुस्तक प्रकाशित गरेका थिए भने यसपल्ट उनले कविगुरुको ऐतिहासिक दुर्लब चित्रहरु दुईवटा फ्रेममा हालेर संग्राहलयलाई प्रदान गरेको छ | मङपुमा कविगुरुको जन्म जयन्ती अनि पुण्यतिथि पालन गरिने प्रथा दिनदिने हराउंदै गएको स्थितिलाई कोट्याउँदै केयर टेकर शिशिर रावतसित जान्न चाहँदा सरकारले आजसम्म कविगुरु सम्बन्धि दुई चारवटा मात्र कार्यक्रम गरेको र बाँकी सबै एक्लै अनि कुनैबेला अचानक आउने अतिथिसित मिलेर सानो रुपमा मात्र कार्यक्रम गर्दै आएको जनाए | मुख्यमन्त्री ममता ब्यनार्जी रबिन्द्रवादी रहेकोले कलकता अनि सिलिगुडीमा रबिन्द्र संगीत बज्छ तर पहाडमा रहेको दुइवटा रबिन्द्र केन्द्रहरु गौरीपुर हाउस र मङपु रविन्द्र संग्राहलयलाई सरकारले हेलचेक्राइ गर्दै कुनै कार्यक्रम गर्ने आयोजन गर्ने धृष्टता नराखेको दुखेसो उनले पोखे | बर्तमान पर्यटन मन्त्री गौतम देवले पनि मङपुमा धुमधामसाथ कविगुरुको जन्म अनि पुण्यतिथि पालन गर्छु भन्दै थुप्रै पल्ट घोषणा गरेपनि यही बाटो भएर दार्जीलिङ चड्ने साथै छेवैको सिटोङ क्षेत्रमा आउँदा पनि मङपु रविन्द्र संग्राहलयमा फर्केर नहेरेको साथै स्थानीय बासिन्दाहरुले पनि कहिले पनि चासो नदेखाएकोमा उनले गहिरो दु:ख प्रकट गरेका छन् | सरकारबाट अहिलेसम्म संरक्षण अनि मर्मति विषयमा कुनै पहल नगरिएकोले संग्राहलयको अवस्था दिनोदीन जीर्ण हुँदै गएको यसभित्र राखिएको रबिन्द्रनाथका चित्रहरुको अवस्था खराब हुँदै गएको समय आज डा० भोज बहादुर गुरुङले कविगुरुका चित्रहरु दुइवटा फ्रेममा हालेर दिनु संग्राहलयको निम्ति ठुलो उपलब्धि रहेको बताउंदै डा० गुरुङमाथि उनले कृतज्ञता प्रकट गरेका छन् भने सरकार पक्षबाट कुनै सहयोग बिना आफु एक्लैले यो संग्राहलय चलाउन नसकिने अवस्थामा पुगिसकेको केयर टेकर रावतले जनाएको छ | सन् १९४० तिर कविगुरु मङपुमा आउँदा यहाँका साहेब सरकार अनि मजदुर लगायत स्थानीय बासिन्दा बिच छुवाछुतको भावना थियो भने यसलाई कविगुरुले धेरै हदसम्म तोडेरनै मङपुको शैक्षिक स्तर बढेर गएको तथ्य उजागर गर्दै उनले कविगुरुलाई साम्प्रदायिक दृष्टिले मात्र नहेरेर स्थानीय बासिन्दाहरुले पनि उनले मङपुमा ल्याएको सुधारको कदर गर्दै उनलाई सम्मान गर्नुपर्ने बताए | यसरी नै कविगुरुले माया गरेको तेश्रो स्थान मङपु संग्रहालयलाई सरकारले हेलचेक्राइ गर्दै कहिले सुचना अनि सांस्कृतिक विभागलाई सुम्पिने, कहिले पर्यटन विभागलाई सुम्पिने गरेकोले अहिले कुन विभागले हेर्छ त भनी सोधिएको प्रश्नमा बोल्दै उनले यस सम्बन्धमा आफु पनि कन्फ्युज रहेको बताउंदै रम्बीदेखि मङपु चड्ने बाटोमा टाँसिएको संग्राहलयको बोर्डमा टुरिजम डिपार्ट लेखिएको, रविन्द्र श्रमिक कल्याण केन्द्र अघि टाँसिएको बोर्डमा हेरिटेज बङलो सिन्कोना अनि अन्य औषधीय पौधाहरु लेखिएको अनि फेरि अलिक माथि टाँसिएको बोर्डमा पश्चिम बङ्गाल पर्यटन विभाग जीटीए लेखिएको बताउंदै संग्राहलयको निम्ति कुनै पनि विभागले अहिलेसम्म कुनै पहल नगरेकोले यी बोर्डहरु हेर्दै आफु स्वय पनि अचम्म अनुभव गरिरहेको उनले बताएको छ | समयमा यस संग्रहालयमा विदेशी ब्रिटिश पर्यटक साथै बंगलादेशसम्मका पर्यटकहरु भीड लाग्ने हुनाले आफु एक्लैले उनीहरुलाई सम्हाल्न र यसभित्रका समानहरुलाई संग्रक्षण गर्न नसकिरहेको गुनासो, संग्रक्षणको निम्ति एउटा नाइट गार्ड धरि नभएको गुनासो पोख्दै बेला बखत पहाड अनि समतलका मिडियाकर्मीहरु आएर जीटीएले संग्रहालयको निम्ति के गर्दैछ भनी प्रश्न सोध्ने गरेको बताए भने जीटीए प्रमुख बिमल गुरुङ स्वय पनि यस संग्रहालयभित्र आजसम्म प्रवेश नगरेको खुलाशा केयर टेकर रावतले गरेको छ | मन्त्री गौतम देव मङपु आएको समय भुइचालोले संग्राहलय चर्किएको देखेर मर्मतिको निम्ति १ करोड दिन्छु, यहाँ रबिन्द्र रिसर्च सेन्टर खोल्छु भनी घोषणा गरेपनि त्यहाँ देखि यता उनी पनि नआएको बताउंदै मुख्यमन्त्री स्वयपनि हरेक पल्ट पहाड चड्दा उनको भाषणहरुमा सर्वप्रथम रबिन्द्रको दुई लाइनबाट शुरु गर्ने गरेको साथै बिजनबारी पुलदुर्घटनाको समय आउँदा म फेरि आउंछु र यसलाई एउटा बिभागमा हालिदिन्छु भनेर बचन दिए पनि पचासपल्ट पहाड चडिसक्दा पनि संग्राहलयलाई एक आँखाले पनि नहेरेको उनले जनाए | यस रबिन्द्र संग्राहलयलाई पहाड अनि समतलको पर्यटन मानचित्रभित्र हालेकोले पर्यटकहरु भीड लागेर आउने गरेपनि यसको संग्रक्षण अनि मर्मति विषयमा भने कुनै कदम नउठेकोले यहाँ त हामी डुप्लिकेट रबिन्द्रको संग्राहलय सम्हालेर बसेको जस्तै भयो भनी व्यंग्य समेत केयर टेकरले कसेको छ | अन्तमा यसलाई के गर्दा राम्रो होला भनी सोधिएको प्रश्नमा उनले यसलाई साम्प्रदायिक दृष्टिले नहेरेर साथै राजनैतिक रंग पोत्ने काम नगरेर समस्त पहाडको एसेट यस संग्रहालयलाई सबै मिलेर सिन्कोनाको पक्षबाट नै एउटा संग्रक्षण समिति गठन गरेर सरकारबाट छुट्टै कोषको व्यवस्था मिलाउन सके राम्रो हुन सक्ने अन्दाज राख्दै यदि सरकारको यस्तै सुस्तिपनले हो भने संग्राहलयको भविष्य अब धेर नरहेको पनि विगत चौधवर्षदेखि केयर टेकरको रुपमा संग्राहलयलाई संग्रक्षण गर्दै आएका एक्लो व्यक्ति शिशिर रावतले जनाएको छ ||
Post a Comment
We love to hear from you! What's on your mind?