पोहर सालको मध्य बर्खामा भिषण पानी परेको समय मङपु रेशेप बजार छयाङ खोलामा झरेको पहिरोले आधा सडक तल झारेको आज प्राय: एक वर्ष बितिसक्दा पनि कुनै मर्मति हुन सकेको छैन | रेशेप बजार अनि मङपु कोर्टको मुखैमा पर्ने यो पहिरोले क्षतिग्रस्त सडकमा हाल दुईवटा गाडी पास हुन नसक्ने अवस्था छ जसले गर्दा समय समयमा लामो जाम सम्म लाग्ने गर्छ अनि मानिसहरुलाई हिड्न समेत असुविधा भइरहेको छ | सबैको नजरमा पर्दा पर्दै पनि नजर अन्दाज गरेर राखिएको यो क्षतिग्रस्त सडकले आउँदो बर्खा थेग्न नसके अझ सोहोरिएर बाँकी रहेको सडक पनि पहिरोमा परिणत हुनसक्ने छाँट देखा परेको छ | पहिरोलाई बाँध्ने अनि सडक मर्मति गर्ने कामको त के कुरा उल्टा रेशेप बजार भरिको फोहरमैला यही स्थानमा फ्याँकिने गरेकोले दिनोदीन पहिरोले फोहरको डङ्गुरको रुप लिइरहेको स्पष्ट देखिन्छ | जन घनत्व धेरै भए पनि मङपु कुनै नगरपालिका या खण्ड नरहेकोले यहाँ यस्ता फोहरमैला व्यवस्थापनको कुनै सुविधा छैन यसैले बजारेहरुले यहीं मैला फ्याँक्न बाध्य हुन्छ | तैपनि जल्न सकिने मैलाहरुलाई जलाई दिए धेरै राम्रो हुने मन्तव्य यही सडक भएर ओहर दोहर गर्ने मानिसहरुको छ | फोहरमैला संगै दुर्गन्धले भरिएको यस क्षेत्रमा मानिसहरु नाक मुख थुनेर हिड्ने गरेको पाइएको छ भने यही छयांङ खोलाको तलतिर बस्ने गाउँलेहरुले पनि संधै यही कुराको विरोध गरेको पाइन्छ | यो पहिरो बिषय लिएर काम माग्न थुप्रै राजनैतिक दलका मानिसहरु तक्दाह खण्ड बिकास कार्यलयमा पुगेको हल्ला सुनिएपनि आजसम्म कसैले पनि सडक मर्मति गर्ने अनि पहिरोलाई बाँध्ने काम ल्याउन सकेको छैन | वास्तवमा मङपु एउटा ठुलो क्षेत्र रहनुको साथै जनघनत्व पनि धेरै बढेर गएकोले यहाँ आफ्नै खण्ड बिकास कार्यलयको आवश्यकता महसुस गर्दै विगतका दिनहरुमा केही राजनैतिक दलहरुले समग्र मङपुलाई ब्लक अनि रेशेप बजारलाई नगरपालिकाको दर्जा दिलाउने कुरो गरेपनि बर्खे च्याउ जस्तै त्यो मुद्दा पनि हराएर गएको छ | यदि मङपु भित्र नै खण्ड विकास कार्यलय हुनु हो भने यस्ता प्राकृतिक आपदा साथै फोहरमैला व्यवस्थापनलाई लिएर धेरै चाँडो काम हुनसक्ने मन्तव्य पनि एकपक्षका सचेत व्यक्तिहरुको छ | लहरा तान्दा पहरा गर्जिए पनि हालमा भने यो क्षतिग्रस्त सडक साथै पहिरो बाँध्ने काम यसवर्षको बर्खा शुरु हुन अघिनै गर्न अत्यन्त्यै आवश्यक रहेको देखिन्छ ||

Post a Comment
We love to hear from you! What's on your mind?