सौगात हाट संचालन समिति द्वारा आज पर्यान्त संचालित मङपुको आइतबारे हाट दिनोदिन यस क्षेत्रकै गहना जस्तो भएर गइरहेको छ | मङपु, सिटोङ अनि वरिपरिकाहरुलाई हरेक सप्ताहको आइतबार ताजा साग सब्जी संगै घरका अन्य आवश्यक खाध्य सामाग्री आदि किन्न सुविधा बन्दै गइरहेको हाटमा विदेशी पर्यटकहरु पनि आएर प्रसंसा गर्दै फोटोहरु खिचेर रमाइलो गर्ने गर्छन् | वरिपरिका कृषक दाजु भाइ तथा फूलको खेती गर्नेहरुले पनि आफ्नो उत्पादनलाई बजारीकरण गर्न धेरै नै सहज भएर गएको पाइएको छ भनौ यो हाट मेहनती हातहरुलाई केही भएपनि आय श्रोतको माध्यम बनेर गएको छ | सम्भवत: यो हाट तक्दाह खण्डकै सबैभन्दा ठूलो हाट बजार पनि हो | यसै हाटमा सिन्कोना निर्देशालयको सिन्कोना अनि अन्य औषधीय पौधाहरु बाहेक अन्य बिशेष प्रकारको उत्पादनहरु पनि बेला बखत बेच्नको निम्ति ल्याइएको पाइएको छ | अघिल्लो वर्ष सिन्कोना निर्देशालयबाट उन्नत ढंगमा खेती गरिएको स्ट्रबेरीहरु बेच्न निकालिएको थियो भने आज फेरि निर्देशालयकै ट्रपिकल नर्सरी परिसरमा पालिएको टर्की र यसको अण्डाहरु बेच्न ल्याइएको थियो | यो पक्षीको मासु र अण्डा अन्य पक्षीहरुको जस्तो साधारण नभएर मुटुको रोगी, रक्तचापका रोगी, सुगर आदिका रोगीहरुको निम्ति खुबै लाभदायक रहने पनि जानकारी प्राप्त छ | 6 सय रुपियाँ प्रति केजीको दरमा बेच्न ल्याइएको टर्की हालमा जम्मा 50 वटा पालिएको नर्सरी प्रभारी सुदिप थापाले बताएका छन् भने यो पक्षी संगै स्वास्थ्यको निम्ति लाभदायक गृहपालित अन्य पक्षीहरु जस्तै कोयल, एयरसेल, बनराजा, हाँस आदि पनि बेच्नको निम्ति तयार भएको र किन्न चाहनेहरुले नर्सरी परिसरमा गएर पनि लिन सक्ने उनले बताएका छन् | यसरी यस हाटमा साग सब्जी संगै यस्ता दुर्लभ उत्पादनहरुको पनि बजारीकरण गर्न सहज हुँदै गएको बेला अनि हाटले बृहत रुप लिँदै गइरहेको बेला हाट व्यवस्थापनमा भने धेरै नै कमी कमजोरी पाइएको छ | 2014 देखि सफल ढंगमा चलेर आएको यस हाटमा आजसम्म पनि हाटसेट अर्थात स्टल नभएको कारण बिशेष गरेर बर्खाको समय हाट पसलेहरुलाई आफ्नो दोकान राख्न धेरै नै मुस्किल पर्ने गर्छ जसको कारण वर्खायाममा यहाँ पसलहरुको संख्यामा ह्रास आएको देखिन्छ | यही विषयमा हाट संचालन समिति अध्यक्ष गगन राईसित जान्न चाहँदा समितिले यस विषयमा पहल गरिरहेको बताएका छन् भने उनले अझ बताए अनुसार केही वर्ष अघि खण्ड विकासबाट हाटसेटको निम्ति सहुलियत पाउँदा पाउँदै पनि कतिपय कारणवश त्यो सहुलियतलाई भित्राउन नसकिएको बताए | आज पर्यान्त यहाँको बस स्ट्याण्डमा संचालन हुँदै आइरहेको हाटको निम्ति अन्य स्थानको एनओसी प्राप्त भएपनि खण्ड विकासबाट हाटसेटको सहुलियत भित्राउन बाधा आएकोले सो कार्य थाँतीमा नै रहेको उनले थप जनाएका छन् | यो हाट यस क्षेत्रका कृषक दाजु भाइहरुको उत्पादनलाई सही बजारीकरण गर्न साथै क्षेत्रबासीलाई थप सुविधा दिनको निम्ति संचालन गरिएको हो र यो कुनै पनि राजनैतिक पार्टी बिशेषको निजि व्यवसाय नरहेकोले यसलाई सठीक व्यवस्थापन गराउन सम्पूर्ण मङपुबासीको नै दायित्व रहने हुनाले सबैले नै मिलेर पहल गर्न जरुरी रहेको पनि अध्यक्ष राईले बताएका छन् ||

Post a Comment
We love to hear from you! What's on your mind?