मङपु रेसेप बजारको मैलाले अझै पनि सठीक ब्यावस्थापन पाउन सकेको छैन | रेसेप बजारका ब्यापारी अनि अन्य स्थानीय बासिन्दाहरुको घर अनि दोकानबाट थुप्रिएको मैला कुचेला जम्मै एकाधिक वर्षहरुदेखि यहाँको छ्याङ खोलामा ल्याएर फ्याँकिने प्रथा यथावत छ | मैलाको थाक बेसी भएरनै यहाँ दुई तीन वर्षअघि पहिरो चलेर आधा बाटो तानेर लागेको सबैको आँखासामु छ जुन पहिरोले तानिएको सडक आज पर्यान्त बनिएको छैन | बजारबासीले पनि पहिरो चलाउनलाई नै यहाँ मैला फ्याँक्ने गरेका होइनन् मजबुरी यस्तै छ कि फ्याँक्नलाई अन्त कतै डम्पिङ ग्राउण्ड छैन | छ्याङखोला तल पनि रेसेप विभागको गाउँ छ, गाउँलेहरुले सोझै रेसेप बजारबासीलाई सराप्छन् फोहर मैलाले गाउँसम्म प्रदुषित भयो भन्छन् | धेरै वर्षहरुदेखिको यस्तै समस्या, छ्याङ खोला भएर हिंड्ने हरेक जनसाधारणले नाक थुनेर हिड्न पर्ने बाध्यतालाई केही राहत दिलायो हु केयर्स संस्थाले | भित्तैभरि फ्याँकिएका मैला कुचेला बटुलेर जलाए, सफा बनाए परिसर अनि वरिपरि बाँसका भाटा – चिम आदिले बारेर सठीक तरिकाले मैला फ्याँक्न सिकाए, जल्ने मैला जलाउन सिकाएर गए | तर आज प्राय: एक वर्ष जति भयो फेरि मैलाले सडक छेक्न थाल्यो | मैलाको भारि बढेर बार सबै ढालिसको दृश्य सबैको सामु छ तर सबै मुकदर्शक बनेर चिहाउँछ मात्र | प्रश्न यस्तो आउँछ कि यहाँको मैला सफा गर्न हरेक वर्ष हु केयर्स नै आउन पर्ने हो कि स्थानीय मैला फ्याँक्ने महानुभाववर्गले सिक्न पर्ने हो ? या त सम्बन्धित निकायहरुले पहल गर्नपर्ने हो ? प्रश्न केवल प्रश्ननै बन्दै गइरहेको छ उतर कतै छैन | यो समस्या रेसेप बजारबासीको मात्र पनि होइन, सम्पूर्ण मङपुबासीको हो | यहाँका तमाम राजनैतिक दलहरुले पनि यस्तो समस्यालाई नजर अन्दाज गरेर हिड्नु राम्रो होइन, सिन्कोना बगान व्यवस्थापन अनि निर्देशालयले पनि कान थुनेर बस्नु भएन | यहाँका ब्यापारी संगठनहरुले यो समस्या बारे के पहल गरेका छन् या छैनन् तर पत्र पत्रिकाले धेरै पल्ट यहाँका सिन्कोना विभाग, राजनैतिक दल सरोकार पक्षदेखि लिएर सर्वसाधारणलाई नै झकझकाइरहेको भएपनि परिणाम प्राय: शुन्य छ | बाहिरकाहरुले शिक्षित सचेत मान्ने मङपुबासीले हरेक दिन यही दुर्गन्धमय मैलाको थुप्रोले स्वागत गरिरहेका छन् अतिथिहरुलाई ||
छ्याङ खोलाको मैलाले फेरि बाटो छेक्न थाल्यो
30Nov2017
Post a Comment