सुन कै भाउ छ सुन्तला भारीको
मंग्पू/केशर मोक्तान: " लटरम्मै फल्ने बोटले खै के रोग पायो कुन्नी जिंगरिंगे परेर मर्ने मरिसक्यो " सुन्तला खेतीमा परिवार धान्ने कृषकहरु यस्तै व्यथा तेर्साउन लागेका छन् | एकातिर सुनकै भाउ छ सुन्तला भारीको भन्न थालेका छन् भने अर्कोतिर फल झर्ने रोगले सताएको कृषकवर्गले नाना भाँतीको औषधि मुलो गर्न व्यस्त छन् | फलाई कम्ति भएको छेक पारेर दाम बढ्ने प्रथाले ग्राहकहरु मर्कामा परेका छन् | बोटमा नै ३ रुपियाँ प्रति दाना परेपछि टिपेको बोकेको सबै जोडेर दोकानको ढाकीमा सजिएको सुन्तलाले सुनको भाउसंग दाँजो गर्न सजिलो भएको छ | कृषि विभागले उचित पहल गरेर रोग निवारण माथि केही सोचिदिन पर्ने हो भन्ने सबैको भनाई रहेको छ | बोटमा नै पहेलो भएर झर्ने र फलभित्र नै किरा लाग्ने रोगले कृषकहरु हैरान भएका छन् | जति नै स्यार गर्दा पनि स्थायी समाधान हुन नसक्ने यो जटिल समस्या कृषकवर्गको निम्ति गाडे घाउ बन्न पुगेको छ | नानीहरुको स्कूल खजानादेखि सम्पूर्ण परिवार धान्ने श्रोत अनि खर्चेलु युगमा जिउन सजिलो बनाउन सुन्तला व्यापारको सपना दैनोदीन चक्नाचुर बन्दै गइरहेको छ | यसको निम्ति विभागीय अधिकारीवर्ग लगायत गैर सरकारी संस्थाहरुले प्रशिक्षण शिविरको आयोजना गर्न पर्ने आवश्यक देखिन्छ | विज्ञजनको आ- आफ्नो विचार अनुसार सुन्तला बाहेक अन्य साग- सब्जीलाई अनेक प्रकारको रासायनिक औषधि प्रयोग गरेर सुन्तलाको बोटलाई प्रत्यक्ष प्रभाव परेको हो | भनौ धेरै वर्ष पहिला सुन्तला खेती गर्ने गाउँहरुमा सुन्तलाको बोट मर्ने डरले बुदापाकाले लक्स साबुनले धरि मुख धुदैन थिए | अचेल विभिन्न प्रकारका गन्ध युक्त पदार्थहरुको प्रयोगले पनि सुन्तलालाई रोगले संक्रमण गरेको हो भन्ने भनाई छ | अहिले इन्टरनेट युगमा मोबाइल टावरको रे को कारण पनि सुन्तला लगायत अन्य फल- फूलहरु प्रभाव परेको विज्ञजनहरु बताउँछन्| यस पल्ट सुन्तलाको बजार दरभाउ राम्रो नै रहेतापनि बोटमा फलाई भने प्रतिवर्ष घट्दै गइरहेको गाउँले बताउँछन् | प्रत्येक वर्ष सुन्तला उत्पादन घट्दै गइरहेको कारण स्थानीय कृषकहरुलाई आगमी वर्षहरुमा आर्थिक प्रभाव पर्ने संकट देखा परेको बुझिन्छ | यसर्थ कृषकहरुको हितलाई ध्यान राख्दै सुन्तला खेती बचाउ बारे विभिन्न कृषक कल्याण संगठनहरुले प्रशिक्षण शिविर कार्यक्रमहरु गर्न जरुरी देखिएको छ |
Post a Comment
We love to hear from you! What's on your mind?