दार्जीलिंग | शरण गुरुङ: सांसद जसवन्त सिंहले प्रदान गरेको आधुनिक सुविधायुक्त एम्बुलेन्स गोजमुमोले आज दार्जीलिंग जिल्ला अस्पताललाई सुम्प्यो | पहाडका जनताको हितमा अस्पतालले उक्त एम्बुलेन्सको प्रयोग गर्नुपर्ने बताउदै गोजमुमो महा सचिव रोशन गिरीले एम्बुलेन्सको चाबी अनि कागज पत्र आज जिल्ला अस्पताल परिसर मै डीएमओ एस घोसलाई सुम्पे | लगभग वर्ष दिन अघि नै पहाडका जनताको निम्ति सांसद जसवन्त सिंहले मोर्चालाई सुम्पेको उक्त एम्बुलेन्स मोर्चाले धेरै अघि देखि नै जिल्ला अस्पताललाई प्रदान गर्ने निधो गरेतापनि अस्पतालपक्षको ढिलाइको कारण यसो हुन सकिरहेको थिएन भनी महा सचिव रोशन गिरीले पत्रकारहरुलाई जनाए | यसबारे दागोपाप प्रशासक अनिल वर्मा अनि सीएमओएच एस० भौमिकसित कुराकानी गरी हाल जामुने हेप्पी भेली न्यु इयर ब्रीजमा सम्पन्न भैरहेको कृषि बागवानी तकनिकी मेलाको अवसर पारेर उक्त एम्बुलेन्स अस्पताललाई हस्तान्तरण गर्ने निर्णय बनाइएको जनाउँदै गिरीले गत ३,४ अनि ५ जनवरीको कार्यक्रम बीच नै सीएमएचओलाई हस्तान्तरण गरिने तय भएतापनि कार्यक्रममा सीएमएचओ अनुपस्थित रहेपछि उक्त एम्बुलेन्स कार्यस्थल मै राखिएको थियो भनी जनाए | आज जिल्ला अस्पताल परिसर मै ल्याएर अस्पताल पक्षलाई एम्बुलेन्स हस्तान्तरण गरेपछि अस्पतालले पहाडको जनताको निम्ति यसको सदुपयोग गरिदिने साथै यसको उचित संरक्षण गर्ने महासचिवले अस्पताल पक्षलाई आग्रह गरे | डीएमओ एस घोसले मोर्चा अनि सांसदलाई एम्बुलेन्सको निम्ति आभार प्रकट गर्दै यसले अस्पताललाई धेरै सहयोग हुने बताए | यसको संरक्षणमा अस्पतालले बिशेष ध्यान दिने पनि उनले आस्वस्त गराए | सांसद जसवन्त सिंहले पहाडलाई प्रदान गरेको आधुनिक सुविधा सम्पन्न यस एम्बुलेन्समा अक्सिजन, एसी सहित विरामीहरुलाई यसभित्र चिकित्सा गर्न सकिने सुविधाहरु रहेको छ | अस्पताललाई सुम्पिएको यस एम्बुलेन्सको भाडा आदिबारे चाडै फैसला गर्ने डीएमओले बताएको छ | मोर्चाले एम्बुलेन्स जनताको निम्ति सार्वजनिक गरेपछि सबैले हर्ष जाहेर गरेको छ | यधपि आधुनिक सुविधा सम्पन्न एम्बुलेन्सको भाडा पनि साधारण जनताले बेहोर्नेयोग्यको हुनुपर्ने भन्ने जनताको भनाइ छ | जिल्ला अस्पतालमा हालमा थुप्रै एम्बुलेन्सहरु बेस्याहार अवस्थामा थान्को लागीरहेका छन् , मोर्चाले आजसम्म सम्हालेर राखेको यस एम्बुलेन्सको पनि अस्पतालले यही हाल बनाउने हुन् कि भन्ने पनि जनसाधारणले प्रतिक्रिया गरिरहेका छन् |

Post a Comment
We love to hear from you! What's on your mind?