कालेबुङ, 15 जनवरी।डी० के० वाइबा : मार्क्सवादी साहित्य ठूलो ज्ञानको भण्डार हो। यसभित्र अनेकौं ज्ञानका कुराहरू छन्। मैले मार्क्सवादी साहित्यका खोराकहरू बद्रीनारायण प्रधानबाटै पाउन सकें। उनी युगपुरूष हुन्। हाम्रो समाजमा विगतका दिनहरूमा मात्र युग पुरुषहरू जन्मेनन्, तर वर्तमानमा पनि युगपुरूषहरू जन्मनको निम्ति हाम्रो समाज मलिलो ठाउँ हो। यसैको उदाहरण हुन् बद्रीनारायण प्रधान-उक्त कुरा बाग्राकोट उच्चतर माध्यमिक विद्यालयमा स्व. ब्रदीनारायण प्रधानको सालिग अनावरण कार्यक्रममा मुख्य अतिथि डा. इन्द्रबहादुर राईले भनेका हुन्। नेपाली साहित्यका महान लेखक इन्द्रबहादुर राईले आज स्व. प्रधानको 85 औं जन्मजयन्तीको अवसरमा तिनको सालिग अनावरण गरे। यस अवसरमा विशिष्ट अतिथिका रूपमा साहित्यकार एवं राजनीतिज्ञ आरबी राई उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि राईले विगतका साहित्यकारहरू विभिन्न राजनैतिक पार्टीहरूसँग जोडिएता पनि त्यस कार्यले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। यद्यपि आफू भने राजनीतिमा चासो हुँदाहुँदै पनि कुनै पनि राजनैतिक पार्टीसित जोडिन नपुगेको जनाए। गोर्खालीगमा जातिवादको भावना हुँदाहुँदै आफू गोर्खालीगको सदस्यता नलिएको, मार्क्सवादमा रूचि हुँदाहुँदै मार्क्सवादी नबनेको अनि गान्धीको सिद्धान्तमा प्रेरित हुँदाहुँदै कंग्रेस पनि नबनेको बताउँदै यी सबै कुरामा सम्मिलित नबन्नु आफूले धर्मका पुस्तकहरू अध्ययन गर्नेगरेको मूल कारण रहेको डा. राईले जनाए। सन् 1960 को दशकमा डुवर्समा पहिलो कविगोेष्ठिमा आफूले प्रथमपल्ट भाग लिएको सम्झना गर्दै स्व. प्रधानको सालिग अनावरणमा आफू सहभागी बन्नपाउँदा अत्यन्तै हर्षित रहेको बताए। 10 वर्षअघि मात्र स्व. प्रधानसँग तिनका धर्मपत्नीले पकाएको खाना खाएको आलो सम्झना गर्दै आज त्यसै कुराको धेरै सम्झना भइरहेको जनाए। भविष्यमा डुवर्स पुनः आउनु सक्छु कि सक्तिन भन्दै आफूलाई पनि 85 वर्षको वृद्ध अवस्थाले सताउन थालेको तिनले थपे। स्व. बद्रीनारायण प्रधान नेपाली साहित्यका मात्र नभएर नेपाली समाजकै निम्ति महान व्यक्ति रहेको बताउँदै डुवर्समा नेपाली भाषी शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान रहेको तिनले जनाए। राजनीतिमा लागेपछि तिनले साहित्य क्षेत्रमा कलम चलाउन निरन्तरता दिन नसकेता पनि समाजबिना साहित्य बॉंच्न नसक्ने कुरालाई ध्यानमा राखेर स्व. प्रधानले समाजमा जागरूकता ल्याउन महत्वपूर्ण योगदान दिएको तिनले बताए। तिनले समाजमा आफूमाथि अपगाल आउने कुनै कार्य नगरेको बताउँदै राजनीतिमा अनेकौं गालीहरू गर्ने भएतापनि तिनीमाति कसैले औंली उठाउन नसकेको जनाए। यता विशिष्ट अतिथि आरबी राईले डुवर्सको शैक्षिक विकासमा स्व. प्रधानको महत्वपूर्ण योगदान रहेको बताए। हाम्रो समाजले गुणी मानिसहरूको गुणलाई कदर गर्न सिक्नपर्ने बताउँदै तिनी नेपाली समाजका गुणी व्यक्ति रहेको बताए। हाम्रो समाजमा कुनै विपरित राजनीति गर्ने मानिसहरूको गुणलाई स्वीकार नगर्ने थोत्रे मानसिकता रहेको बताउँदै यस्ता मानसिकता मानिसहरूले त्यागेर आफ्ना दुश्मनकै राम्रा गुणहरू स्वीकार गर्न सिक्नपर्ने आरबी राईले थप बताए। विगत दिनमा स्व. प्रधानसँग अत्यन्तै प्रगाड सम्बन्ध रहेको बताउँदै स्व. प्रधानबाट धेरै राम्रा कुराहरू आफूले सिक्ने मौका पाएको पनि तिनले जनाए। कार्यक्रममा अर्का विशिष्ट अतिथिका रूपमा डा. मोहन पी. दाहालले स्व. प्रधानलाई टिस्टा गढतिरको गोर्की उपनाम दिए। तिनले मेक्सिम गोर्कीको आमा उपन्यास नेपालीमा अनुवाद गरेर नेपाली समाजलाई महत्वपूर्ण कार्य गरिदिएको बताए।
यस अवसरमा प्रथम बद्रीनारायण प्रधान स्मृति पुरस्कार राजनारायण प्रधानलाई प्रदान गरियो। कार्यक्रमका मुख्य अतिथि डा. इन्द्रबहादुर राईको बाहुलीबाट दोसल्ला ओडाएर स्मृति चिन्ह अनि नगद राशी प्रदान गरियो भने विशिष्ट अतिथि आरबी राईको बाहुलीबाट ढाका टोपी लगाएर तिनलाई प्रथम स्व. बद्रीनारायण प्रधान स्मृति पुरस्कारले विभूषित गरियो। यसै अवसरमा स्व. प्रधानको डायरी लेखन पुस्तक पनि विमोचन गरियो। कार्यक्रममा स्व. प्रधानको सालीग निर्माण गर्ने नवोदित मूर्तीकार अमिर सुन्दासलाई पनि सम्मान जनाइयो।
कार्यक्रममा असित राई, नरबादुर दाहाल, डा. जस योञ्जन प्यासी, एमबी राई, राजनारायण प्रधान आदिले सम्बोधन गर्दै स्व. प्रधानले नेपाली साहित्यमा पुर्याएको योगदानबारे प्रशंशा गरे। यसै अवसरमा कविगोष्टि पनि सम्पन्न भएको थियो।

Post a Comment
We love to hear from you! What's on your mind?