कालेबुङ, 16 दिसम्बर प्रदीप लोहागुन :- सूचनाप्रविधिको
आडमा करोडौ रुपियाँको ठगी गर्ने
वेब इन्फो स्ल्युशनका प्रमुख
प्रकाश सुब्बाले अन्ततः कालेबुङ
थानामा आत्मसमर्पण गरेका छन।
शनिबार साँझ कालेबुङ थानामा
समर्पण गरेका कालेबुङको चर्चित
एसएमएस काण्डका प्रमुख आरोपी
सुब्बालाई आज सीआइडीले आफ्नो
हिरासतमा लिएको छ। यस मामिलाको
सिलगढीस्थित सीआइडी कार्यालयले
अनुसन्धान गरिरहेको कारण आज
सीआइडीको एउटा दलले आरोपी प्रकाशलाई
कालेबुङ अदालतमा पेश गरी सात
दिनको रिमाण्डमा लिएको छ। आरोपीसँग
गहन सोधपूछको निम्ति सीआइडीले
गरेको निवेदनलाई स्वीकार्दै
यहाँको एसीजेएम कोर्टले तिनलाई
सात दिनको सीआइडी रिमाण्डमा
राख्ने निर्देश दिएको हो। शारीरिक
रुपले असक्त रहेका प्रकाश सुब्बा
बिगत डेढ बर्षभन्दा अधिक समयदेखि
पुलिस र सिआइडीको नजरबाट छल्लिँएर
कालेबुङबाहिरका आफन्तहरुकहाँ
भौँतातिरहेका थिए। लुकाचोरीको
यस खेलले शिथिल पारेपछि अन्तमा
तिनले आत्मसमर्पण गर्ने निर्णय
लिएका हुन। “शरीर पनि यस्तो
अशक्त छ। कति दिन भागी भागी
हिँड्नु? आत्मसमर्पण गर्नु
नै उचित ठानेँ” आरोपी प्रकाशले
भने। शारीरिक दृष्टिकोणले
बिकलाङ्ग जस्तै देखिने प्रकाश
नै यस एसएमएस काण्डका ‘माष्टरमाइण्ड’
मानिएका छन। बर्ष 2009-मा आफ्ना
केही सहयोगीहरुसँग तिनले कालेबुङमा
वेब इन्फो स्ल्युशन नामक एउटा
कम्पनी खोलेका थिए। यस कम्पनीले
लगानीकर्ताहरुलाई रुपियाँ
निवेश गर्न लगाएर एउटा एसएमएसको
प्याकेज वितरण गर्ने गर्थ्यो।
यसै कम्पनीमा पैसा लगानी गरेर
कम समयमा मोटो रकम कमाउने प्रलोभन
देखाइएको उक्त एसएमएस सम्प्रेषण
गर्ने लगानीकर्ताहरुलाई उनीहरुको
मूलधनसहित मोटो रकम फर्काउने
गर्थ्यो। थोरै समयमा धेरै धन
कमाउन चहाने मानिसहरुबीच छोटो
अवधीमा नै यो कम्पनी खूबै लोकप्रिय
बन्न पुगेको थियो। बर्ष 2010-सम्म
आइपुग्दा यो कम्पनीको प्रतिदिनको
वित्तिय लेनदेन सत्ताइस लाखसम्म
पुगेको थियो। कम्पनीले सम्पूर्ण
वित्तिय लेनदेन नगदमा हुने
गर्दथ्यो। धेरभन्दा धेर लगानीकर्ताहरुलाई
निवेशको निम्ति आकर्षित र उत्साहित
बनाउन शुरुमा यस कम्पनीले वित्तिय
लेनदेनका मामिलाहरुमा कुनै
चतुराइ देखाएन। कम्पनीप्रति
लगानीकर्ताहरुको अतिविश्वासको
अवस्था सृजना भएपछि भने यसका
पदाधिकारीहरुले आफ्ना वास्ताविक
चरित्र देखाउन शुरु गरेका थिए।
बर्ष 2011-को शुरुआती महिनादेखि
लगानी गरेकोभन्दा दोब्बर कमाउने
लोभमा फसेका निवेशकहरुलाई
रुपियाँ भुक्तान गर्ने क्रममा
अनियमितता देखा परेको थियो।
कम्पनीको तक्निकी अनि वित्तिय
कारणहरु देखाएर लगानीकर्ताहरुलाई
रुपियाँ भुक्तान गर्न बन्द
गरिएपछि यो कम्पनी विवादमा
परेको थियो। 2011को फरवरीमा निवेशकर्ताहरु
बीएल दीक्षित रोडस्थित कम्पनीको
कार्यालयमा भेला भएर उत्तेजना
फैलाएपछि प्रकाश सुब्बासहित
तिनका चारजना मुख्य सहयोगीहरु
लापता भएका थिए। यसैबीच, कम्पनीका
एक पिडीत लगानीकर्ता फिरोज
अहमदले कम्पनीविरुद्ध कालेबुङ
थाना प्राथमिकी दर्ता गरेपछि
पुलिसले घटनाको संज्ञान लिएको
थियो। पिडीत लगानीकर्ता अहमदको
लगभग चार लाख रुपियाँ यस कम्पनीमा
डुबेको थियो भने तिनीजस्तै
लगभग पाँच हजार लगानीकर्ताहरुको
कम-बेसी गरी लगभग एक करोडभन्दा
धेर रकम यस कम्पनीले कुम्ल्याएको
आरोप छ। कालेबुङ पुलिसबाट बर्ष
2011को अप्रेलमा यो मामिला सीआइडीलाई
हस्तान्तरण गरिएको थियो। सीआइडीले
यो मामिला आफ्नो हातमा लिएपछि
मूल आरोपी प्रकाशलगायत तिनका
चारजना प्रमुख सहयोगीहरुको
खोजी गरिरहेको थियो तर सफलता
हात लागेको थिएन। यसैबीच मूल
आरोपी प्रकाश सुब्बाले शनिबार
साँझ कालेबुङ पुलिससमक्ष आत्मसमर्पण
गरेपछि सीआइडीको निम्ति मामिलाको
अनुसन्धानलाई अघि बढाउन निकै
सहज हुने देखिएको छ। सीआइडीले
प्रकाशलगायत तिनका सहयोगीहरु
विरुद्ध भारतीय दण्ड संहिताको
वित्तिय अनियमितता र धोकाधडीका
धाराहरु 420/406-सहित सूचना एंव
प्रविधि दूरोपयोगको धारा
66-अन्तर्गत मामिला दर्ता गरेको
छ। यता, यस काण्डका मूल आरोपी
प्रकाश सुब्बाले आफ्नो सफाइमा
कम्पनीको सञ्चालनमा आफ्नो
भुमिका भए पनि यस आर्थिक अनियमितताको
घटनामा भने आफूलाई कुनै ज्ञान
नभएको बताएका छन। तिनले आफ्ना
चारजना भगौडे सहयोगीहरुसँग
पनि कुनै सम्पर्क र जानकारी
नभएको दावी गरेका छन।
Post a Comment
We love to hear from you! What's on your mind?