दुर्व्यसनको आगोले निल्दैछ पहाड़लाई

Drug Addiction in Darjeeling
 दार्जीलिङ,26 जून (शरण गुरुङ): सचेतना अनि रोकथामको अनेकौ प्रयासबीच पनि पहाड़मा दुर्व्यसनको खतरा घट्‌नुको साटो बड़्‌दै नै गइरहेको छ। वर्त्तमानमा विशेष 15 देखि 25 सम्म उमेरका झरिला- भरिला  युवाहरू ड्रग्स सेवनले खरानी बन्दै गइरहेका छन्‌। दुर्व्यसनको शिकार भएर मर्नेहरूको संख्या पनि पहाड़मा दिनौंदिन बड़्‌दै गइरहेको छ। यो गम्भीर चिन्ताको विषय हो। यसबाट बॉंच्न असम्भव जत्तिकै भइसकेको छ। कृपा सेन्टरका फाउन्डेसनका सेन्टर इन्चार्ज हिरेन प्रधान यसो भन्छन्‌। आज वर्ल्ड एन्टी ड्रग्स डेको उपलक्ष्यमा कृपा फाउन्डेसन अनि बंगाल एक्साइज विभागको संयुक्त आयोजनामा चौरास्तामा दुर्व्यसन उन्मूलनार्थ प्रदर्शनी, हस्ताक्षर अभियान, पर्चा वितरण कार्यक्रम आयोजना गरेको थियो। सोही कार्यक्रमको औचित्यबारे बोल्दै उनले यसो भनेका हुन्‌। उनले बताएअनुसार, दुर्व्यसनको शिकार हुनेहरूमा अधिकाशं 14 देखि 25 वर्षसम्मका युवाहरू रहेका छन्‌। दुर्व्यसनका शिकार भएकाहरू कृपा सेन्टरमामात्रै अहिले 42 जना उपचाररत्‌ छन्‌,जसमध्ये अधिकाशं यही उमेरका युवाहरू रहेका छन्‌।
कृपा फाउन्डेसनलगायत्‌ अन्य गैर सरकारी संस्थानहरूले यस विषयमा सचेतना कार्यक्रम गरिरहेको भएतापनि सचेतनालेमात्रै केही नहुने स्थिति देखिदैछ। किनभने पहाड़मा ड्रग्सखोरीहरूको नेटवर्कीङ जुन प्रकारले बड़िरहेको यसलाई हेर्दा यसलाई उखेल्न असम्भवजत्तिकै रहेको छ। पुलिससूत्रबाट थाहा लागेअनुसार, दार्जीलिङ शहरमा विशेष सिक्किमबाट जोरथाङ हुँदै अत्याधिक मात्रामा ड्रग्स अनि मदिराहरू शहरमा भित्र्याइने गरिन्छ। यसबाहेक सिलगढीबाट पनि ड्रग्सहरू ल्याइने गरिन्छ। मुख्यत: कम समयमा पैसा कमाउने ध्येयले  शहरमा यस्तो अवैध धन्धा फस्टाइरहेको छ। यही गोरखधन्धालाई व्यवसाय बनाएर शहरमा थुप्रै लखपति, करोड़पति पनि भइसकेको छ भने युवापीढि तथा अन्य मानिसहरूले पनि उनीहरूकै नक्कल गरेर यस्तो प्रकारको धन्धा गरिरहेका छन्‌। पहाड़मा उक्त धन्धा गर्नेहरूमा अधिकाशंबेरोजगार युवा- युवतीहरू नै रहेको पनि थाहा लागेको छ। सिक्किमबाट मदिरा छिराउनेहरूको शहरका होटेल,रेस्टुरेन्टसित सोझै व्यापार चल्ने गरेका छन्‌ भने ड्रग्स व्यापार गर्नेहरूले भने सोझै ड्रग्स सेवन गर्नेहरूसितै सम्पर्क गर्ने गरेको छ। ड्रग्स सेवन गर्नेहरूले विशेष शहरको सुनसानक्षेत्रहरूलाई आफ्नो अड्डा बनाउने गरेको जानकारी पाइएको छ। राती सुपर मार्केट, मालरोडलगायत शहरका विभिन्न क्षेत्रहरू दुर्व्यसनीहरूको अड्डा बन्ने गरेको छ भने दिउँसै पनि कतिपय पुराना भवन अनि जङ्गलक्षेत्रमा पसेर सेवन गर्ने गरेका छन्‌।
जनसंख्या वृद्धिसितै दुर्व्यसनीको संख्या पनि वृद्धि भइरहेको बताउँने कृपा फाउन्डेसनका सेन्टर इन्चार्ज हिरेन प्रधानको भनाइमा युवा पीढिमा दुर्व्यसनको शिकार बन्नुको मुख्य कारण हो, उदासीनता, कुसंगत अनि पारिवारीक कलह। बेरोजगार अनि पारिवारीक अन्तर्कलहको कारण उदास भएर अथवा साथी-संगीको करकापमा पनि यस्ता कुलतमा लाग्ने गरेको सर्वेक्षणमा थाहा लागेको प्रधानको भनाइ छ। परिवारमा मातापिता दुवैले दोस्रो बिहे गर्ने अनि घरमा अशान्ति भइरहने परिवारका युवाहरूले पनि ड्रग्स सेवनतिर लाग्ने गरेको पनि उनी बताउँछन्‌।  दुव्यर्सनको बड़्‌दो खतरालाई ध्यानमा राखेर प्रत्येक विद्यालयले काउन्सिलर राख्न पनि आवश्यक रहेको कृपा फाउन्डेसनका हिरेन प्रधानको भनाइ रहेको छ।
दुर्व्यसनलाई रोकथाम गर्ने एकमात्र साधन सचेतना हो भन्ने बंगाल एक्साइज विभागका ओसी प्रभास सुब्बा बताउँछन्‌। जनमानसमा यो समाजको निम्ति खतरा हो भन्ने चेतना हुदॉंहुदै पनि अचेतजस्तो भएर इजी मनीको निम्ति यस्तो गोरखधन्धा फैलाउने साथै आपसी कलह अनि कोर्ट कचहरीको झमेलाको भयले यस्ता गोरखधन्धा गर्नेहरू विरूद्ध सामाजिक संघ-संस्था तथा जिम्मेवार नागरिकले कुनै कार्वाही नगर्ने प्रवृत्तिले नै पहाड़लाई दुर्व्यसनीले निलिरहेको उनको भनाइ छ। एक्साइज विभाग तथा पुलिस प्रशासन एक्लैले केही गर्न सक्दैन। जनसाधारणको सहयोग चाहिन्छ। यस्ता अवैध धन्धा गर्नेहरूको सुइँकोमात्रै विभागलाई दिएको खण्डमा पनि विभागीय कार्वाही हुनसक्छ। यस धन्धामा लिप्त एकैजना  पनि पकड़ा पर्दा 10 जनाभन्दा अधिक मानिस दुर्व्यसनको शिकार हुनबाट बाच्न सक्छ, एक्साइज विभागका ओसी सुब्बा यसो भन्छन्‌। सचेत रहँदारहँदै अचेत भएको नाटक गरिनाले नै पहाड़का युवा शक्ति खिइँदै गइरहेको र यही नाटक जारी रहे सबैको घरॉंगन नै चाड़ै दुर्व्यसनको अड्डा बन्ने पनि उनले बताए। रोकथामको निम्ति जनसाधारण अनि प्रशासनमाझ तालमेल बन्नुपर्ने, शैक्षिक संस्थानहरूमा यस विषयमा जागरूक गराइनुपर्ने अनि घर परिवारमा पनि अभिभावक अनि छोराछोरीमाझ राम्रो सम्बन्ध स्थापित हुन आवश्यक रहेको उनी बताउँछन्‌।

सचेतना अनि रोकथामको अनेकौ प्रयासबीच पनि पहाड़मा दुर्व्यसनको खतरा घट्‌नुको साटो बड़्‌दै नै गइरहेको छ।

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.