साहित्यकार इन्द्रबहादुर राई हङकङमा

मनोज बोगटी,  कालेबुङ,20 अप्रेल: नेपाली साहित्यको क्षेत्रमा शिखर मानिएका इन्द्रबहादुर राई आज बिहान नै हङकङ पुगे। तिनीसित तिनकी वृद्धा अर्धाङ्गनी मायादेवी पनि साथ छिन्‌। निक्कै पाको भइसकेका राई जुनै पनि कार्यक्रममा आफ्ना स्वास्नीसित नै देखिन्छन्‌। तिनकी पत्नी मायादेवी विना एकक्षण पनि बस्न नसक्ने इन्द्रबहादुर राई हङकङ पनि आफ्नै मायालुको साथमा पुगे। नेपाली महासङ्घ हङकङको आयोजना र नेपाली साहित्य प्रतिष्ठान हङकङको संयोजनमा सम्पन्न हुन गइरहेको 'हङकङमा नेपाली साहित्य र विचार गोष्ठी'-मा प्रमुख आतिथ्य दिँदै राई हङकङ पुगेका हुन्‌।  
कार्यक्रम तालिका अनुसार अप्रिल 23 तारिख सॉंझ 6 बजीदेखि याउ मा तेइको कम्युनिटी हलमा शुरु हुने कार्यक्रममा प्रतियोगितात्मक कविता गोष्ठी, हङकङबाट उत्पादित विचार गोष्ठी हुनेछ जहॉं राईले हङकङेली नेपाली साहित्यिकहरूमा तेस्रो आयाम, लीला लेखन र विश्व साहित्य, दर्शनमा बोल्ने कार्यक्रम छ। 
यस कार्यक्रमको प्रत्यक्ष प्रसारण मिडिया पार्टनर दोबाटो डट कम- ले गर्ने भएको छ। कार्यक्रमलाई संरक्षण गर्न हेम लिम्बूको संयोजनमा हेजेन राई, धन थापा, जे. एन. ज्ञवाली, किसन राईको एउटा टोलीको संरक्षण परिषदको पनि गठन भएको छ।  इन्द्रबहादुर राईले तेस्रो आयाम र लीलालेखनमाथि मात्र होइन हङकङबाट उत्पादित विचार र दर्शनमाथि पनि गहन विचार राख्ने सम्भावना छ। 
अहिले हङकङका उपन्यासकार कवि देश सुब्बाले भयवाद-माथि कार्य गरिरहेका छन्‌ भने भर्खरै विश्वभरिका कविहरूले साइबर राईटिङलाई माथि उचाल्दै रेखा कविता-लेखन पनि यहींबाट शुरू गरिएको छ। विश्वभरिबाट अहिले रेखा कविता लेख्ने कार्य भइरहेको छ भने दार्जीलिङबाट युवा कवि मनोज वोगटी पनि यस लेखनसित सम्बद्ध रहेका छन्‌। आलोचक डा.गोविन्दराज भट्टाराईको भूमिका सहित एघाह्र जना विश्वभरिका कविहरूको संयुक्त रेखा कविता-नामक कविता संग्रह प्रकाशित हुने भएको छ जसमा मनोज वोगटीका चारवटा कविता रहेका छन्‌। 

राईले भयवाद अनि रेखा कवितामाथि पनि आफ्नो विचार राख्न सक्ने कार्यक्रममा जुटिरहेका कवि देश सुब्बाले जनाएका छन्‌। राई दम्पतिको यो दोस्रो विदेश यात्रा हो। यसभन्दा अघि उनीहरूले बेलायतको यात्रा गरेका थिए । इन्द्रबहादुर राई नेपाली साहित्यका शिखर पुरुष हुन्‌। उनलाई विश्व दर्शनको ज्ञाता पनि मानिन्छ। हङकङमा उनको आगमनले त्यहॉंका साहित्यकारहरू निकै उत्साहित भएको देश सुब्बाले जनाएका छन्‌। तिनी अनुसार कार्यक्रमलाई विशिष्टता दिन आयोजक र संयोजक संस्था यतिखेर कम्मर कसेर लागेका छन्‌। नेपाली महासंघ हङकङका अध्यक्ष प्रदिप थापा भन्छन्‌- उहॉंजस्तो विद्वान्‌ व्यक्तिको उपस्थितिले हङकङको उचाइ बढाएको छ। त्यस्तै संयोजक संस्था प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फे भन्छन्‌-इन्द्रबहादुर राईको आगमनले संसारभरिका साहित्यकाररूको ध्यान हङकङमा तानिएको छ। यता संरक्षक समितिका संयोजक हेम लिम्बू पनि भन्छन्‌, जतिसक्दो कार्यक्रमलाई सफल पार्न सहयोग गर्न हामी एकदमै उत्साहित भएका छौँ
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.