बिना पुष्पको पुष्प प्रदर्शनी ब्यानरले पैसा उठाउदैछ चिया अनि पर्यटन उत्सव कालेबुंगमा

कालेबुंग/डी० के० वाइबा: चिया अनि पर्यटन उत्सवको अवसरमा यहाँको डम्बर चौक नजिक जनमुक्ति पार्कमा आयोजना समितिले पुष्प प्रदर्शनीको ब्यानर लगाएको भएपनि पुष्प प्रदर्शनी भने भएको छैन | आयोजक समितिले लगाएको ब्यानरको इज्जत केवल पार्कमा पहिले देखि ढकमक फुलेको लालुपातेले बचाईदिएको छ | कालेबुंगमा फुल्ने विभिन्न प्रजातिका फुलहरु यसपालीको चार दिने चिया अनि पर्यटन उत्सवमा प्रदर्शनी गर्ने आयोजक समितिले अगावै घोषणा गरेको थियो | सोही अनुरुप हिज कार्यक्रमको उद्घाटन संगै मुख्य अतिथि मेजर जेनेरल बबी मेथ्युले जनमुक्ति पार्कमा पुष्प प्रदर्शनीको रिबन काटेर उद्घाटन गरेका थिए | तर वास्तविकता भने बेग्लै रहेको छ | पार्कमा आयोजक समितिले पुष्प प्रदर्शनी गरेको कुरामा गेटमा लगाईएको ब्यानरले स्पष्टै पारे पनि गेट पार गरेर भित्र पसे केवल पहिले देखि फुलेको लालुपाते बाहेक कुनै अन्य पुष्पहरु प्रदर्शनीको निम्ति राखिएको छैन | आयोजक समितिले पुष्प प्रदर्शनी ब्यानर मात्र लगाएर पुष्प प्रदर्शनी नगरे पनि आजदेखि पार्कमा प्रवेश शुल्क उठाएर पैसा बसुली शुरु गरेको छ | चिया अनि पर्यटन उत्सवको सरकारी लोगो छापेको रशिदमा प्रति व्यक्ति ५ रुपियाँ गरेर प्रवेश शुल्क आजदेखि उठाउन शुरु गरिएको छ | जुन कुराले चिया अनि पर्यटन उत्सवमा भ्रष्टचार गन्ध पाइएको छ | बिशेष सुत्र मार्फत जानकारी पाए अनुसार दार्जीलिंग चिया अनि पर्यटन उत्सव कालेबुंगको निम्ति सात लाख रुपियाँ अनुमोदन गरेको छ | यस कार्यक्रम सरकारी भएको कारण सरकारले पैसा पनि खर्च गरिरहेको छ | कार्यक्रमको निम्ति सरकारी पैसा अनुमोदन भइसको छ जुन पैसा दार्जीलिंग, खरसांगमा खर्च गरिसकेपछि हिजदेखि कालेबुंगमा खर्च शुरु भैसकेको छ | तर सरकारी कार्यक्रममा सरकारी लोगो छापिएको रसिदमा आजदेखी शुरु भएको पैसा उठाउने कामले  भने अनेकौ प्रश्नहरु खडा गरिदिएको छ | जसको जवाब आयोजक समितिले भविष्यमा स्पष्ट पार्न पर्ने देखिएको छ | सरकारी कार्यक्रममा पैसा उठाउने अनुमति आयोजक समितिलाई कसले दियो भन्ने प्रश्न अहिले गम्भीर बनेको छ | यस सम्बन्धमा चिया अनि पर्यटन उत्सव आयोजक समितिका कार्यकारी अध्यक्ष शुभ प्रदानले सरकारी लोगो भएको रसिदमा पैसा उठाउने कार्य केवल पार्कको बिकाशको निम्ति गरिएको जानकारी पत्रकारहरुलाई दिए | तिनले चार दिने कार्यक्रमको निम्ति सरकारले दिएको पैसा पर्याप्त नरहेको जानकारी दिंदै यहाँको व्यवस्थालाई राम्रो बनाउन आयोजक समितिलाई पैसा उठाउन जिल्लापालले नै दिएको तिनले बताएका छन् | पार्कमा आजदेखि  पैसा उठाउन शुरु गरे पनि उक्त पैसा कार्यक्रम भरि मात्र गरिने तिनले थप बताएका छन् | तिनले आयोजक समितिले उक्त पैसा उठाइरहेको भएपनि पैसा उत्सव कोषमा नजाने तर पार्क कै बिकाशको निम्ति गरिने जनाएका छन् | 

एकातिर दार्जीलिंग पहाडमा चिया अनि पर्यटन उत्सव आयोजना गरेर सरकारले लाखौ रुपियाँ खर्च गरिरहेको छ भने अर्कोतिर त्यही उत्सवमा सरकारी लोगो छापिएको रसिदमा पैसा बसुलीको घटनाले आयोजक समितिलाई शंकाको घेरोभित्र पारेको छ | हाल उत्सव आयोजना समितिले कालेबुंगमा पर्यटकहरुलाई आकर्षण गर्न विभिन्न प्रदर्शनीहरु आयोजना गरेका छन् | जुन प्रदर्शनीहरु मध्ये पुष्प प्रदर्शनी एउटा रहेको छ | तर उक्त पुष्प प्रदर्शनी केवल ब्यानरमा मात्र सिमित बनेको छ | स्मरण रहोस जनमुक्ति पार्कमा जुन पुष्प प्रदर्शनीको ब्यानर लगाइएको छ त्यहाँ केहिदिन अघि कलेबुंगका हर्टिकल्चर सोसाइटीले नि:शुल्क विभिन्न प्रजातिका पुष्पहरु स्थायी रुपले रोपिदिएका छन् | सोही सोसाइटीले यस उत्सवमा कालेबुंगमा फुल्ने विभिन्न प्रजातिका पुष्पहरु प्रदर्शनी गर्ने कार्यक्रम रहेको थियो | तर आयोजक समितिले केवल प्रवेश द्वारमा ब्यानर लगाएर गाल टारेको छ | वास्तविक रुपले पुष्प प्रदर्शनी नभएपनि पहिलेको फुलेको लालुपाते हेर्न भने चिया अनि पर्यटन उत्सव आयोजक समितिले मानिसहरुलाई टिकटको भार थमाईदिएको छ | आयोजक समितिले पार्कमा पुष्प प्रदर्शनीको नाममा पुष्प प्रदर्शनी नगरेपनि लाइटहरुको प्रदर्शनी भने गरेको छ | जुन कुरालाई रातको समयमा पार्कको सौन्दर्यलाई थप सुन्दर बनाइदिएको छ | तर यस घटनाले मानिसहरुमा एउटा शंका भने उत्पन्न गराईदिएको छ | कतै पुष्प प्रदर्शनीको बजेट लाइट प्रदर्शनीमा मानिसहरुको ध्यान आकर्षण गरेर भ्रष्टचार गरिरहेको त छैन भन्ने प्रश्न मनिसहरुले गर्न थालेको छ | यहाँ माथि सरकारी लोगो छापिएको टिकटमा पैसा बसुलीको घटनाले थप कार्यक्रममा भ्रष्टचारको गन्ध रहेको मानिसहरु बताउछन् |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.