कालेबुङ |प्रदीप लोहागुन: उत्तराखण्डवासीहरूले
सामना गर्नु परिरहेको भयवह
प्राकृतिक प्रकोपको घटनाले पहाडवासीको मनमा पनि
चिसो पसेको छ। बर्ष 2009मा आइला अनि 2011-मा भूइँचालो आएर पहाडलाई
तहस-नहस पार्दा पनि यस्ता आपदा
दोहोरिन सक्ने शंकाले पहाडवासीहरूको
मनमा चिसो पसेकै थियो तर यस्ता प्राकृतिक आपदाको
न्युनिकरण र समुचित प्रबन्धन
र तयारीको दिशामा न सरकारी
निकायहरू तात्तेका छन न नागरिकसमाज
नै। प्राकृतिक अनि भौगलिक
संरचना र भौतिक विकासको दृष्टिकोणले
उत्तराखण्डसँग समानता राख्ने
दार्जीलिङ पहाडमा पनि कुनै
दिन प्रकृतिले यस्तै प्रकारको
भयवह विनाशलीला मच्याउने सक्ने
सम्बन्धित क्षेत्रका विशेषज्ञहरूले
मत जाहेर गर्दै आएका छन। दार्जीलिङ
पहाडको भौगलिक बनावटलाई केन्द्र
गरी सम्बन्धित सरकारी निकायहरूले
तय गरेको मानकलाई उल्लंघन गरी
अन्धाधुन्ध निजी अनि सार्वजनिक
संरचनाको निर्माण गर्ने परम्परा पनि एक दिन घातक हुने विशेषज्ञहरूको भनाइ
छ। उत्तराखण्डमा भएको आपदाको
मूल कारण प्राकृतिक नभएर त्यहाँ
भइरहेका ठूलठूला विकासका परियोजनाहरू
रहेको निष्कर्षमा त्यस राज्यका
भूगर्भविद, पर्यावरणविद र सामाजिक
कार्यकर्ताहरू पुगेका छन।
यता, दार्जीलिङ पहाडमा पनि
सम्भावित ठूलो आपदाका कारण
प्राकृतिक नभएर मानवनिर्मित
नै हुनसक्ने जानकारहरूको विचार
छ। बर्ष 2008मा आएको चक्रपाती
तूफान आइलाका कारण व्यापक विनाश
देखेपछि आपदा न्युनिकरणको
दिशामा जनहागरुकता फैलाउन
अनि जिम्मेवार सरकारी निकायहरूलाई
झकझकाई रहने काम गरी रहेका
सामाजिक कार्यकर्ता प्रफुल्ल
राव पनि यी कुराहरूसँग सरोकार
राख्छन। ‘सेभ द हिल्स्’ नामक
एउटा संस्था नै गठन गरेर यस
दिशामा काम गरीरहेका अवकाशप्राप्त
विङ कमाण्डर प्रफुल्ल राव आपदाप्रबन्धन
र योजनागत ढाँचाको विकासकार्यप्रति
सरकारको नीतिगत उदासिनताले
खिन्न छन। उत्तराखण्डको प्राकृतिक
दूर्घटनाबाट दार्जीलिङ पहाड
र सिक्किमले पाठ सिक्नु पर्ने तिनको जोड छ। ‘जाग्ने बेला हो यो’
रावले मंगलबार भने, ‘प्रशासनको
मानसिकता पनि राहतमुखी मात्र
देखिन्छ। आपदा सुरक्षा र प्रबन्धनको
दृष्टिले हेरैकै छैन’ ‘एक्ला
चलो रे’-को सिद्धान्तको काम
गरिरहेका रावले कालेबुङका
धेरैवटा पैह्रोग्रस्त अनि
सम्भावित क्षेत्रहरूको भ्रमण
गरि तथ्याङकहरू संग्रह गर्ने
गरेका छन भने प्राकृतिक आपदाबारे
आयोजित राज्य अनि राष्ट्रीय
स्तरका संगोष्ठी र कार्यशालाहरूमा
नियमित धाउने गरेका छन। तिनले
सम्भावित प्राकृतिक प्रकोपको
हिसाबले सम्वेदनशील दार्जीलिङ
पहाडको सुरक्षा, जागरुकता र
प्रबन्धनका मुद्दाहरू राष्ट्रीय
मञ्चहरूमा उठान गर्ने गरेका
छन भने सेभ द हिल्स नामको आफ्नो
ब्लगमार्फत राष्ट्रीय अनि
अन्तर्राष्ट्रीय स्तरका भूबैज्ञानिक,
पर्यावरणविद र विशेषज्ञहरूसँग
पनि यहाँका प्राकृतिक प्रकोपसँग
सम्बन्धित मुद्दाहरूबारे
सूचना साझा गर्ने अनि विमर्श
गर्ने गरेका छन। तिनले आफ्नो
ब्लगमा अपलोड गरेको ताजा फोटो
र सूचनाले पनि प्राकृतिक आपदाको
हिसाबले यो क्षेत्रको सम्वेदनशीलता
अनुमान गर्न सकिन्छ। तिनीअनुसार
प्राकृतिक प्रकोपको दृष्टिले
दार्जीलिङ पहाड र सिक्किमको
सम्वेदशीलता अनुमान लगाउन
युकेका भूवैज्ञानिक डा डेविड
पेटलीको भविष्यवाणीको अध्ययन
गर्न जरुरी छ। युकेको डर्हन
विश्वविद्यालयको इण्टरनेशनल
ल्याण्डस्लाइड सेन्टरका वैज्ञानिक
डा डेविड पेटलीले आफ्नो अध्ययन
र अनुसन्धानपछि हिमालयको दक्षिणी
धारको वृतांशमा रहेको क्षेत्रहरूलाई
पैह्रोजन्य प्रकोपबाट सर्वाधिक
मान्छे मारिन सक्ने क्षेत्रको
रुपमा चिन्हित गरेका छन। यता,
ज्योलोजिक सर्वे अफ इण्डियाले
आफ्नो रिपोर्टमा पैह्रोको दृष्टिले
दार्जीलिङ पहाडी क्षेत्रलाई
अत्याधिक उच्च खतराको श्रेणीमा
राखेको छ भने भूकम्पको दृष्टिले
यो क्षेत्र देशकै दोस्रो
उच्च खतराको वर्गमा पर्दछ।
रावअनुसार कालेबुङको छोटा
भालूखोप, दुम्सीपाखा आदि क्षेत्रहरू
पैह्रोको हिसाबले ज्यादै सम्वेदनशील
रहेका छन। पहाडको जलवायुमा
अहिले देखा परेको अस्वाभाविक
परिवर्तनले पनि प्रकोपको वातावरण
बनाउन सक्ने रावको चिन्ता छ।
उत्तराखण्डको वार्षिक औसत
वर्षा 1523 मिलिमिटर रहेको जबकी
दार्जीलिङ पहाडको तीन हजार
रहेको तथ्य तिनले साझा गरेका
छन। केही वर्षयता पहाडमा मनसूनको
मौसमभरि हुनुपर्ने वर्षाको
ठूलो अंश एकै दिनमा हुने गरेकोले
पनि पैह्रो र ठूलो प्रकोपको
सम्भावना चुलिँदै गएको रावले
बताएका छन। स्कूल स्तरमा प्राकृतिक
प्रकोप र आपदा प्रबन्धनबारे
पठनपाठन, समुदाय आधारित आपदा
जोखिम प्रबन्धन अनि सरकारी
तवरमा विद्यार्थी र सरकारी
कर्मचारीहरूलाई जागरुक र प्रशिक्षित
गरिनु पर्ने कुरामा तिनको जोड
छ। सम्बन्धित निकायले सर्वसाधारणको
स्तरमा मौसम र जलवायुसम्बन्धी पूर्व चेताउनी सन्देश
प्रेषण गर्ने प्रणाली शुरु
गरेको खण्डमा पनि प्रकोपबाट
सर्वसाधारणको ज्यानमालको
सुरक्षा गर्न प्रभावी हुने
तिनको धारणा छ।
Post a Comment
We love to hear from you! What's on your mind?