सञ्जीव छेत्री : अन्ततः अखिल भारतीय एसएसबी ग्वेरिल्ला सङ्गठनको धेरै लामो दौडधुप पछि ग्वेरिल्ला स्वयंसेवक आईटीभीज अनि स्वयंसेविका डब्लुएटीजहरुको मागलाई लिएर केन्द्र सरकारको पक्षबाट सकारात्मक प्रत्युत्तर दिन थालिएको जानकारी प्राप्त भएको छ | सङ्गठनको दीर्घकालदेखिको मागको सन्दर्भमा गत सात फरवरीका दिन दिल्ली गएको अखिल भारतीय एसएसबी स्वयंसेवक सङ्गठनको उत्तर-पूर्वीय भारत क्षेत्रका शीर्षस्थ पदाधिकारीको प्रतिनिधि टोलि आज फर्किएको जनाइएको छ | प्राप्त जानकारी अनुसार देशभरिका बिभिन्न क्षेत्रबाट आएका सङ्गठनका प्रतिनिधि टोलीले गत एघार फरवरीमा दुइजना केन्द्रिय मन्त्रिलगायत १७ जना सांसदहरुसित बैठक गर्यो भने भोलिपल्ट १२ फरवरीका दिन फेरि बसेको बैठकमा सरकारी पक्षबाट सङ्गठनलाई जनाइएअनुसार गत १८ दिसम्बर २०१३मा सङ्गठनले सरकारलाई बुझाएको ग्वेरिल्ला स्वयंसेवक आईटीभीज अनि स्वयंसेविका डब्लुएटीजहरुको नामावलीको जाचँपछि क्याबिनेटमा अन्तिम स्वीकृतिको निम्ति पेश गरिएको छ | सङ्गठनका तर्फबाट लिखित जानकारी गराइएअनुसार सङ्गठनको मागप्रति सरकारले हरियो झण्डा देखाइसकेको छ भने सङ्गठनको सदस्यता नलिएका ग्वेरिल्ला स्वयंसेवक आईटीभीज अनि स्वयंसेविका डब्लुएटीजहरुको जिम्मेवारी सङ्गठनले वहन नगर्ने बताइएको छ | जानकारी रहोस, धेरै वर्षअघि देशको आन्तरिक सुरक्षालाई सबल र सुदृढ पार्न, शस्त्र प्रशिक्षणसमेत प्राप्त अनि सरकारद्वारा नियुक्त सुरक्षा सतर्कता कार्यक्रमका निम्ति खटिएका एसएसबी ग्वेरिल्ला स्वयंसेवकहरु आफ्नो भविष्यको सुरक्षा, अधिकार तथा सहुलियत पाउनका निम्ति संगठित रुपमा सरकारलाई धेरै वर्षहरुदेखि माग गर्दै आइरहेका छन |