सरस्वती उच्चतर माध्यमिक विधालय मङपुका भूतपूर्व प्रधान अध्यापक स्व० एमबी राईको निधनमा आज बिधालयले एउटा शोक सभाको आयोजन गर्दै श्रधान्जली चडाए | दिवंगत शिक्षकको गत २९ अक्टुबरको दिन निधन भएको भएपनि बिधालयमा हाल बार्षिक परिक्षा चलिरहेको कारण आज शनिबार पारेर श्रधान्जली कार्यक्रम आयोजन गरेको जानकारी छ | स्व० राई एक कर्तब्यनिष्ठ साथै समर्पित शिक्षक भएकोले शिक्षकको भारलाई कसरी निभाउन पर्ने भन्ने कुरा उनलाई जतिको अरु कसैलाई थाहा नभएको उनका समकालीन शिक्षक अनि भुतपुर्ब विधार्थीहरु बताउँछन् | मङपुको इतिहासमा मङपुलाई शिक्षाको दिशामा प्रेरित गर्ने अनि मार्गदर्शन गर्ने स्व० राई नै हुन् भनी ठहर गर्दै आज बिधालयका भूतपूर्व प्रधान अध्यापकवर्ग, भूतपूर्व शिक्षक – शिक्षावर्ग, भूतपूर्व विधार्थीवर्ग लगायत सम्पूर्ण मङपुले नै उनलाई आँशुपूर्ण श्रधान्जली दिएका छन् | त्यसताक भारत देश नै भर्खरै अंग्रेजहरुबाट स्वतन्त्र भएर टुकुलटुकुल हिंडीरहेको समय मङपुलाई शिक्षा क्षेत्रमा डोहोराउने स्व० राई एक सच्चा पद प्रदर्शक हुन् भन्दै बिधालयले उनलाई “ आधुनिक मङपुको पद प्रदर्शक” उपमाले सम्मानित पनि गरे | स्व० राई १९५८ सालदेखि १९७९ सालसम्म प्राय: २० वर्ष यस बिधालयमा प्रधान अध्यापकको भार सम्हालेर बसेका थिए भने ८० सालमा उनी दार्जीलिंगको रामकृष्ण शिक्षा परिषद ( आरकेएसपी) मा प्रधान अध्यापक भएर गएका थिए | पछि उनी हिमालय दर्पणका सम्पादक भएर पनि जातिको सेवा गरेका थिए |
विधालय शिक्षक विशोर कार्की अनि सपना खड्काले संचालन गरेको कार्यक्रममा मङपु लाब्दा समष्टि सभासद तथा विधालय संचालन समिति सभापति रतन कुमार थापाको सभापतित्व रहेको थियो भने शिक्षक शरद रावतले स्वागत सम्भाषण राखेका थिए | कार्यक्रममा स्व० राईलाई श्रधान्जली दिनलाई विधालय परिसरमा उनको सालिग़ निर्माण गर्न सके साँचो श्रधान्जली हुने थियो भन्दै शिक्षिका प्रभारीले सभासद थापा प्रति अनुरोध पनि गरेका थिए जुन अनुरोधलाई सहर्ष स्वीकार गर्दै सभासद थापाले उनको नाममा एउटा सालिग़ निर्माण गरिदिने पनि बचन दिएका छन् |
श्रधान्जली कार्यक्रममा भूतपूर्व शिक्षक तथा साहित्यकार मोहन ठकुरी, साहित्यकार सुरेन्द्र थिङ, जीटीए शिक्षा विभाग पुर्व सचिव केके लोहार लगायत शिक्षिका प्रभारी चन्द्रकला राईले स्व० राईले मङपुमा प्रधान अध्यापक हुँदा बिताएका क्षणहरु साथै घटनाहरुलाई सम्पूर्ण उपस्थिति समक्ष प्रस्तुत गरेका थिए भने सभासद थापाले पनि उनको योगदानको मुल्यांकन गर्दै सम्बोधन गरेका थिए जहाँ शानु भट्टराईले स्व० राईलाई समर्पित कविता वाचन गरे |

Post a Comment
We love to hear from you! What's on your mind?