लाब्दा विभागीय कार्यलय नजिक रहेको विभागीय अधिकारीको कोठी दिनोदिन खण्डहरमा परिणत हुँदै गइरहेको अवस्थामा छ | पहिले अंग्रेजको पालामा ब्रिटिश तकनिकी द्वारा निर्मित यस कोठीको अवस्था जीर्णदेखि पनि प्राय: मुनि गइसकेको छ | जबसम्म हरेक सिन्कोना विभागहरुमा विभागीय अधिकारी थियो तब सम्म यस्ता विभागीय अधिकारी बस्ने कोठीहरुले पनि राम्रो देखरेख पाएको थियो भने धेरै वर्षदेखि विभागीय अधिकारीहरुको नियुक्ति नगरेर व्यवस्थापक स्वयले सम्पूर्ण विभागहरु हेर्ने जिम्मा लिएदेखि यता यस्ता कोठीहरुको हाल बेहाल बन्दै गएको छ | बर्तमान यस कोठीमा चाम्रा सुकाउन र राख्न बाहेक अरु केही उपयोग भएको छैन | त्यसैपनि ब्रिटिशको पालामा बनिएको जीर्ण कोठीलाई केही वर्ष अघि आएको भुइँचालोले झनै अवस्था गम्भीर बनाएको छ | यस कोठीभित्रको काठहरु सबै मक्किएर टेक्न पनि डर लाग्ने अवस्थाको छ भने सिमेन्टको भित्ताहरु सबै उप्किएको अवस्थामा छ जसले गर्दा कुनै उद्धार नपाए आउँदो पाँचवर्षभित्रमा नामोनिशान भेट्न गाह्रो पर्ने स्थिति यस कोठीको छ | मङपु सिन्कोना बगान भित्रमात्रै १५ भन्दा अधिक यस्ता ऐतिहासिक कोठी, बङलोहरुको अवस्था जीर्ण बन्दै गइरहेको छ भने कति बङलोहरुमा स्थानीय अथवा बाहिरका अवकाश प्राप्त व्यक्तिहरुले आधिपत्य जमाएर बसेको पाइएको छ जसलाई न त सिन्कोना बगान अधिकारीले न नै कुनै राजनैतिक पार्टीका युनियनहरुले फिर्ता लिन सके | भनौ भने मङपु क्षेत्रमा अवस्थित यस्ता ऐतिहासिक एवम धरोहरको रुपमा राख्न सकिने ब्रिटिसकालिन कोठी, बङलोहरुको संरक्षण प्राय: शुन्य छ | मङपु छोडी रोंगो, मनसोङ आदि सिन्कोना बगानतिर पनि यस्ता पौराणिक कोठीहरुको हाल बेहाल रहेको जानकारी प्राप्त छ | वस्तुत: यी सबै अंग्रेजकालिन कोठीहरु सिन्कोना अनि मङपुको सम्पति हुन् यसैले यसको संरक्षण गर्न हरेकको दायित्व रहने हुनाले बिशेष गरेर सिन्कोना निर्देशालय, व्यवस्थापन साथै विभिन्न पार्टीका मजदुर युनियनहरुले यस्ता सम्पतिहरुको संरक्षण गर्ने दिशामा पहल गर्न नितान्त आवश्यक रहेको देखिन्छ ||

Post a Comment
We love to hear from you! What's on your mind?