गत आइतबार मङपुको रङबी विभाग स्थित स्मृति भवनमा अखिल भारतीय ठकुरी संगठनको प्रथम अधिवेशन केन्द्रीय समिति अध्यक्ष किरण ठकुरीको अध्यक्षतामा सम्पन्न भयो | अधिवेशन शुरु हुन अघि कप्तान रामसिंह ठकुरी, मेजर दुर्ग मल्ल, जीत बहादुर ठकुरीको तस्वीरमा माल्यार्पण र दीप प्रज्वलन गरेर स्मरण गरियो | राष्ट्रीय गीत गाएर अधिवेशन शुरु गरिएको थियो भने केन्द्रीय कमिटि सहसचिव किरण किराठले उपस्थित सम्पूर्णलाई स्वागत जनाएका थिए | ठकुरी रीति रिवाज, संस्कृति, भेष भुषा, कुल पुजा बारे सिटोङका मधुकर मल्लले प्रकाश पारे | तीनै विभूतिका जीवनी किरण किराठले प्रस्तुत गरे | संगठनको भावी कार्यक्रम र विस्तार बारे केन्द्रीय समितिका उपाध्यक्ष कृष्ण कुमार ठकुरीले सबैलाई जनाए | कार्यक्रमको दोश्रो चरणमा फुबछिरिङबाट आएका बसुन्धरा ठकुरीले बाँसुरीको धुन सुनाएर मन्त्र मुघ्ध पारिन | यसरी नै मलटबाट आएका इशा ठकुरीले सुन्दर नृत्य प्रस्तुत गरिन भने दिल ठकुरी टिस्टाभेल्लीले मुक्तक, किरण किराठ मङपुले सिन्कोना गीत आदि वाचन गरे | यस पहिलो ठकुरी अधिवेशनमा दार्जीलिंग, खरसाङ, तक्दाह, पुबोङ बस्ती, पोख्रेबुङ, लुङसेल नोकडाँडा, अलगडा, मलट अन्य थुप्रै स्थानहरुबाट ठकुरीहरु भेला भएका थिए | आशिष ठकुरी र दिवस ठकुरीले संचालन गरेको कार्यक्रमलाई अध्यक्षको धन्यबाद ज्ञापनले अन्त गरेको थियो ||