मोर्चाको मुखमा अर्कै लेखापढीमा अर्कै-आरबी

मनोज वोगटी कालेबुङ, 7 मई: क्रामाकपाको केन्द्रिय समितिले आइतबार कालेबुङमा चुनावी समीक्षा गर्‍यो। समीक्षाबारे प्रकाश पार्दै क्रामाकपा  अध्यक्ष आरबी राईले भने, जुन चुनाउ भयो त्यसबाट सरकारहरूलाई  गोर्खाल्याण्ड पन्थीहरूको एकता  देखाइनुपर्थ्यो, यसदिशामा क्रामाकपाको प्रयास अन्तसम्म नै भयो तर राज्य र केन्द्रको हातबाट बिक्रि भइसकेका शक्ति अनि गोर्खाल्याण्ड विरोधीहरूले दलीय सहमतिको परिवेश निर्माण गर्न दिएन। चुनाउमा जसले जिते पनि त्यो गोर्खाल्याण्डको निम्ति होइन, गोर्खाल्याण्ड मुनीको कुनै पनि व्यवस्थाको निम्ति हुनेछ। तिनले सोझै भने, गोर्खाल्याण्ड भन्ने गोर्खा जनमुक्ति मोर्चा चुनाउमा  पनि प्राधिकरणकै निम्ति लड्यो। केही दिनै नसक्ने माकपाले अटोनमी भन्यो। गोरामुमोले त छैटौं अनुसूची छोड़ेको छैन। कंग्रेस पनि पहाड़मा मात्र युटीको कुरा गर्दै चुनाउ लड्यो, स्पष्ट छ कोही पनि गोर्खाल्याण्डको निम्ति लडेनन्‌। जब कि गोर्खाल्याण्डको निम्ति सबै मिलेर लड़ेर सरकारलाई एकता देखाउनुपर्थ्यो। ठीक गोर्खाल्याण्डको विरूद्ध अन्य मुद्दाको निम्ति गोर्खाल्याण्ड  माग्ने शक्तिलाई विभाजित देखाइने कार्य भयो चुनाउ। यसै कुरा बुझेकोले क्रामाकपा चुनाउमा आएन। तीनले गोजमुमोले मुखले अर्कै र लेखापढीमा अर्कै कुरा गरिरहेको मात्र होइन अहिलेसम्म भइरहेको आन्दोलन र वार्ता समेत प्रायोजित रहेको बताउँदै भने, सरकारले वार्ता गर्न बोलाएको हो भने वार्ता गोर्खाल्याण्डको निम्ति हुनेथ्यो। 11 वटा वार्ताको फलाफल भनेको अन्तरिम प्राधिकरण भयो।  यत्रो वार्ता बसेर गोर्खाल्याण्ड हुँदैन भन्दै गोर्खाल्याण्ड छोड़ेर अन्य सवालमा नै मोर्चा केन्द्रित भइरहेकोले स्पष्ट छ, वार्ता र आन्दोलन दुवै केन्द्र र राज्य सरकारले फ्यॉंकेको जाल हो। जहॉं अहिले मोर्चा परिसकेको छ। यत्रो आन्दोलन गरेर गोर्खाल्याण्ड हुँदैन भनेर बुझ्नु अनि अन्य कुराको निम्ति आन्दोलन र चुनाउ लड्‌नु राजनैतिक इमान्दारिता होइन भन्दै तिनले अझ भने,  क्रामाकपाले सरकारको जालबाट सबैलाई बँचाउन अथवा मुद्दालाई बँचाउनको निम्ति नै सर्वसम्मत उम्मेद्वारको कुरा गरेको थियो। किन भने चुनाउ लड्‌नै पर्छ भने गोर्खाल्याण्डको निम्ति दलीय एकता र जनमत देखाउनको निम्ति लड्‌नुपर्थ्यो। अब जसले पनि जित्छ अनि पटेका पढ्‌काउँछ, त्यो गोर्खाल्याण्डको निम्ति हुनेछैन। मोर्चाले तोपले झीङ्गा मार्न खोजेको मात्र होइन स्वेच्छाधारी  प्रवृति देखाएकोले सरकारले जालमा पार्न सकेको हो भन्ने कुरा गर्दै तिनले भने, सरकार गोर्खाल्याण्ड चहॉंदैन, अन्य व्यवस्था नै चहान्छ। यो त सबैलाई थाहा छ। यसैकारण दलीय एकता र सर्वशक्तिको कुरा क्रामाकपाले गरेको हो। सबै एक भए सरकारको मनोस्थिति परिवर्तन गर्न सकिन्छ। सबै दललाई एक हुन नदिइनु नै पहाड़मा कुनै गोर्खाल्याण्ड मुनीको व्यवस्था बहाली गर्ने सरकारहरूको जाल रहेको  बताउँदै दलहरूले त्यो अवसर यसपल्टको चुनाउबाट सरकारहरूलाई प्रदान गरेको आरोप पनि लगाए। जुत्ता भएन भने लेश भए पनि ल्याइनुपर्छ भन्ने धारणा आन्दोलनकारीमा छ भने कहिल्यै गोर्खाल्याण्ड नहुने बताउँदै तिनले क्रामाकपाले यो कुरा सबै दललाई बुझाएर सहमतिपूर्ण कार्यक्रम र कार्यनीतिको परिस्थिति तयार पार्ने काम गर्नमा ध्यान दिने बताए। तिनले भने, यसैकारण अहिले क्रामाकपाले  दिल्ली र कलकत्तामुखी कार्यक्रम गरिरहको छ। पहाड़का जनताले पनि राजनैतिक चलखेलहरूलाई बुझ्न थालेका छन्‌। जनमुद्दा जबसम्म एउटा पार्टीकोे पेवा मुद्दा बन्छ तबसम्म सरकारले वार्तामा गोर्खाल्याण्ड होइन अन्य सवालमा नै कुरा गर्छ। तर हामीलाई सहमतिपूर्ण कार्यक्रमको निम्ति सहमति बन्ने परिस्थिति निर्माण हुने आशा छ। गोर्खाल्याण्डको निम्ति जनतालाई हतार छैन। विस्तारै तर  पक्का काम गर्दै जानुपर्छ। जनताले चलखेल बुझेको कारण नै दिवालीको उपहार भनिएको प्राधिकरण हुन सकेन, जस्तो यस अघि छैटौं अनुसूची हुन सकेन। गोर्खाल्याण्ड मुनीको कुनै पनि व्यवस्थाको कुरा क्रामाकपाले मान्दैन। तिनले 13 मई पछि अशान्ति नगर्नु नै बुद्धिमत्ताको कार्य हुने पनि बताएका छन्‌। आज पार्टी कार्यालयमा नै भएको समीक्षा कार्यक्रममा क्रामाकपा कार्यकारी अध्यक्ष एलएम  लामा, उपाध्यक्ष जेबी राई,महासचिव तारामणि राई, सचिव गोविन्द छेत्री, सचिव नर्बु लामा,विन्द्या डुक्पा तथा अन्यको पनि उपस्थिति रहेको थियो।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.