चिट फन्ड कम्पनी र आममान्छे

Chit fund company and public
मानिसहरुलाई छिट्टै धनवान बनाउनेदेखि लिएर अन्य बैध वित्तीय  संस्थाहरुले जत्तिनै आय अथवा ब्याज दिन्छौं भन्दै  आएका तथाकथित प्रोडक्ट बेस्ड (उत्पादन आधारित) साथै मनि  मार्केटिङ गर्ने चिटफन्ड  र मल्टी लेभल मार्केटिङ  कम्पनीहरुको चर्तिकला भकाभक  जगजाहेर हुन् थालेकोले मानिसहरुको चिन्ता चरम अवस्थामा पुगिसकेको  अनुभव गर्न सकिन्छ | फलाना  अधिकारी र ढिस्काना विभागबाट अनुमति र प्रमाण-पत्र प्राप्त भएको देखाउँदै त्यस्ता कम्पनीका सुत्रधारहरु जन-गणअघि आउँछन | देशको कुनै एक महानगरमा आफ्नो प्रमुख कार्यलय रहेको बताउँदै विभिन्न विभागका प्रमाण-पत्र र अनुमतिपत्र साथै ठाउँ-ठाउँमा करोडौं रुपियाँको प्रोजेक्ट समेत रहेको बताउने तथाकथित कम्पनीहरुमध्ये कतिले निवेशकहरुको धेरैपल्ट ढाड मस्क्याईसकेको छ भने हाल धेरै लगानीकर्ताहरुलाई कम्पनीको अफिसको ढोका कुर्न बाध्य गराइरहेको छ |
आफ्नो बैधताको  सम्पूर्ण प्रमाण देखाइसके पछि सम्बन्धित विभागमा सोध-खोज गर्नु जरुरि नलागेकोले आफूहरु कुनै शंकाबिनै कम्पनीसँग जोडिने गरेको एक एजेन्टले बताएका छन | “कम्पनीको हेड अफिस कुन्नि कुन सिटीमा हुन्छ | त्यहाँ पुग्ने ल्याकत भए किन पो तीन प्रातिशत – पाँच प्रतिशतमा काम गर्नु ?” - अर्का एक एजेन्ट बताउँछन | “कुरै काट्नु नसक्ने मान्छेले एजेन्सी लिएर आउँछ | मन राखिदिनु भनेर जोइन गरेको | थाहा नपाइ निक्कै लाख कलेक्सन भइसकेछ | कम्पनी उडिदियो भने सखाप ! ” – भनेर तिनले धेरै कुरा व्यक्त गरे | यसप्रकार विशेष रणनीति अप्नाइ रकम संग्रह गर्दै आएका त्यस्ता कम्पनीहरुले विशेष गरि समाजमा दसजनाले पत्याउने अनि आर्थिक अवस्था कमजोर भएका मानिसहरुलाई आफ्नो व्यापारको माध्यम बनाउने गर्छन भने कतिपय मानिसहरु भने उच्च महत्वाकांक्षाकै कारण विभिन्न फर्जी कम्पनीको लोलोपोतोमा लाग्ने गरेको पनि देखिएको छ | कम्पनीले एजेन्टहरु आफूसँग जोडेपछि विभिन्न योजना (स्किम) अनि अतिरिक्त आय र उपहारहरु समेत दिंदै उनीहरुलाई अर्थ संग्रह गर्न लगाएको पाइन्छ | एजेन्ट नियुक्त गर्दा कतिपय कम्पनीमा त योग्यताको निम्नतम सीमा समेत नतोकिएको अनि तोकिएको भए पनि पालन नगरिने गरिएको थाहा लागेको छ |
हजारौं  एजेन्टहरु गाउँ-घर, सहर-बजार सबै ठाउँ पुग्ने भएकाले निवेशकहरू पनि आफ्नो सुबिधा र एजेन्टको मुख हेरेर आफ्नो कमाइ निवेश गर्ने गरेका छन | धेरै प्रतिशत निवेशकर्ताहरु न त कम्पनि हेर्छन न त कम्पनीको प्रारूप र कार्यप्रणाली नै | केवल भरलाग्दो एजेन्टको अनुहार हेरेर लाखौं रुपियाँ निवेश गरेको पनि जान्नमा आएको छ | यसप्रकार विश्वास र भरोसाको व्यापार गर्ने कतिवटा कम्पनीहरुका कारण समाजमा इज्जतसित बाँचेका कतिपय व्यक्तिहरुले बेइज्जत हुनु परेको अनि घरबार छोडेर भाग्नुकाअतिरिक्त आत्महत्याको प्रयास समेत गरेका घटनाहरु पनि देखिएको कतिपय मानिसहरु बताउँछन |
हालको समयमा  शारदा प्रकरणपछि प्रकासमा आएका अन्य चिटफन्ड अनि  मल्टीलेभल मार्केटिङ कम्पनीहरुको  चर्तिकलाको समाचारहरुले  मानिहरुलाई चिन्तित तुल्याइरहेको देख्न सकिन्छ | आफ्नो वरपर हेर्दा सयमध्ये अस्सी जनाभन्दा धेर मानिसहरुले कुनै न कुनै यस्ता कम्पनीमा आफ्ना कमाइका केहि अंश निवेश गरेको पाउन सकिन्छ | “हाम्रो कम्पनी ठीकै छ | बन्द हुँदैन |”- भन्दै आफ्ना सिनियरहरुले भन्ने गरेको भए पनि जनसाधारणको पैसा बिग्रिए आफू जवाफदेही बन्न पर्ने हुनाले हिया ढुकढुक भइराखेको एक कम्पनीका एजेन्टले बताएका छन | हालै पैसा निवेश गरेर अलन्तरमा परेका निवेशकहरुका हालत देखेर साथै कतिपय कम्पनीका मालिकहरु पक्रा परेको खबर पाएर आफ्नो पैसा के हुने हो भनि कति अन्य कम्पनीका निवेशकहरु त्रस्त देखिएका छन |
जानकारहरुको मुताबिक विशेष गरि गाउँ-घरतिर  बैध वित्तीय संस्थाहरुको  कमीका कारण यस्ता कम्पनीहरु  फस्टाउने गरेका छन भने धेर ब्याज पाउने लोभले पनि लगानीकर्ताहरु आकर्षित बन्ने गरेको उनीहरु बताउँछन | रोजगारको कमीका कारण बेरोजगार युवाहरुले यस्ता पेशाप्रति झुकाव देखाउनु स्वाभाविक नै हो भन्दै अर्का एकजना व्यक्तिले –रकम संग्रह गर्ने कतिपय एजेन्टहरुलाई वित्तीय लेनदेन अनि वित्तीय संस्थाहरुको कार्यप्रणाली र कार्यक्षेत्रको समेत ज्ञान नभएको पाइएको र त्यसैले झन बडी चिन्ता लाग्ने गरेको बताए | दुख गरि दुइ पैसा कमाएर केहि गरुँला भन्ने सोचेर पैसा जमा गर्ने सर्वसाधारणको हितका निम्ति बैध वित्तीय संस्थानहरुले महत्वपूर्ण भूमिका खेल्नसक्ने र खेल्नपर्ने सचेत व्यक्तिहरु बताउँछन | यस्ता संस्थानहरु अरु जनमुखी भएर विशेष रणनीतिका तहत घर-घर पुग्न सफल भए मानिसहरुको भलाइ हुनका साथै सरकारी अर्थव्यवस्थामा पनि अनुकुल असर पर्ने उनीहरुको भनाइ रहेको छ |
त्यसका  साथै हालै सरकारले देखाएको  तत्परता दीर्घकालीन परिणाम लिएर आवोस भन्ने सचेत मानिसहरुको भनाइअनुसार सरकार अथवा सम्बन्धित विभागले बेला-बेला त्यस्ता कम्पनीहरुको जन्म-कुण्डली निकालेर जनसाधारणलाई उचित र अनुचितको संज्ञान प्रदान गराइरहनु आवश्यक ठहर्दछ भने जनता पनि यस विषयमा सधैँ सतर्क रहनु जरुरि छ | नत्र त एउटा आउँछ अर्को जान्छ अनि कागका गुँडमा अण्डा पार्न पल्केका कोइलिहरुद्वारा साधारण मानिहरुको आर्थिक बर्मा लुटाई चलिरहने निश्चित छ |

मानिसहरुलाई छिट्टै धनवान बनाउनेदेखि लिएर अन्य बैध वित्तीय संस्थाहरुले जत्तिनै आय अथवा ब्याज दिन्छौं भन्दै आएका तथाकथित प्रोडक्ट बेस्ड (उत्पादन आधारित) साथै मनि मार्केटिङ गर्ने चिटफन्ड र मल्टी लेभल मार्केटिङ कम्पनीहरुको चर्तिकला भकाभक जगजाहेर हुन् थालेकोले

Read latest post filed under blog article

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.