दार्जीलिङ,9 जुलाई(शरण गुरुङ): राष्ट्रिय चिह्नारी र सुरक्षाको निम्ति सय बर्षभन्दा लामो समयदेखि छुट्टै राज्यको मागमा रगत पसीना बगाउँदै आइरहेको गोर्खाहरूको मूलथलो दार्जीलिङलाई मानिन्छ। गोर्खाहरूमा राजनैतिक, शैक्षिक तथा साम्प्रदायिक चेतनाको धूँवा जहिल्यै पनि दार्जीलिङबाटै उठ्ने गरेको छ। विश्वका डल्लै गोर्खाहरूको प्रतिनिधित्व गर्ने गोर्खाहरूको किपटको रूपमा दार्जीलिङलाई हेरिए तापनि विस्तारै दार्जीलिङबाट पनि गोर्खाहरूको धरातल खस्किँदै गइरहेको छ। रगत पसीना अनि ज्यानको बाजी लगाएर पहाड़को भीर पखेरा अनि पहाड़ पर्वतहरू खोपेर तयार पारेको दार्जीलिङमा पनि गोर्खाहरू विस्तारै कमजोड़ हुँदै गइरहेका छन्। एकातिर मारवाड़ी, बिहारी, बंगाली, भोटियालगायत अन्य सम्प्रदायहरूको संख्या वर्षेनी बड़्दै गइरहेको छ भने गोर्खाहरूको जन्म संख्या भने निरन्तर कम हुँदै गइरहेको छ। आर्थिक चेपारोमा परेका गोर्खाहरू सानो परिवार सुखी परिवारको उद्देश्यले एक वा बड़ता दुई जनामात्रै सन्तान बनाउने गरेकोले गोर्खा सम्प्रदायमा जन्म संख्यामा वर्षैपिच्छे कम हुँदै आइरहेका छन्। फलस्वरूप दार्जीलिङमा गोर्खाहरूको जनसंख्या विस्तारै कम हुँदै गइरहेको छ। यो क्रम यसरी नै चलिरहेको आगामी 10-14 वर्षभित्रमा गोर्खाहरू दार्जीलिङ जिल्लामै पनि गोर्खाहरू असुरक्षित बन्ने बुद्धिजीवीहरू बताउँछन्।
जनगणनामा ह्रासः
जनसंख्यामा पश्चिम बंगालको 2001 सालको जनगणनामा दार्जीलिङ जिल्लाको कूल जनसंख्या 1 करोड़ 60 लाख 9 हजार 172 रेकर्ड गरिएको छ जसमा अल्पसंख्यकहरूको संख्या 3 लाख 69 हजार 673 अर्थात् कूल जनसंख्याको लगभग 23 प्रतिशत रहेको उल्लेख छ। 2011 को जनगणनामा फेरि दार्जीलिङ जिल्लाको जनसंख्या 1 करोड़ 8 लाख 46 हजार 723 दर्ता गरिएको छ जो 2001 सालको जनगणनाको तुलनामा 14.77 प्रतिशत धेर हो। 2011 को जनगणनामा अल्पसंख्यकहरूको आधिकारिक आँकड़ा पाउन नसके तापनि 2001 को तुलनामा ज्यादा नै रहेको सहजै अनुमान लगाउन सकिन्छ। यो हिसाबमा एकातिर अल्पसंख्यक समुदायहरूको संख्या दार्जीलिङ जिल्लामा लगातार बड़िरहेका छन् भने गोर्खाहरूको जन्म संख्यामा निरन्तर ह्रास आइरहेको छ। जो गोर्खाहरूको निम्ति चिन्ताको विषय मान्न सकिन्छ।
आर्थिक स्थितिः
पहाड़बाट गोर्खाहरूको धरातल फुत्किँदै जानुको मूलकारण आर्थिक व्यवस्थालाई पनि मान्न सकिन्छ। दार्जीलिङ जिल्लामा मुख्यरूपले शहर बजार क्षेत्रका मुख्य व्यापार वाणिज्यहरूमा गोर्खाहरूको नभएर अन्य समुदायको प्रभुत्व रहेको छ। नगरपालिका सूत्रबाट थाहा लागेअनुसार दार्जीलिङ शहरको होटल, रेष्टुरेन्टदेखि लिएर खुद्रा पैकारीसम्ममा पनि गोर्खाहरूको संख्या एकदमै कम रहेका छन्। कतिपय होटलहरू गोर्खाहरूको नाममा भए तापनि चलाउनेहरू भने अन्यभाषी नै रहेका छन्। समग्रमा शहरको 90 प्रतिशतभन्दा धेर व्यापार वाणिज्यमा अन्य सम्प्रदायको आधिपत्य रहेको नगरपालिका सूत्रको भनाइ रहेको छ।
दार्जीलिङ शहरमै मात्र नभएर दार्जीलिङ जिल्लाका विभिन्न बजारी क्षेत्रहरूमा पनि यही हाल रहेको छ। जिल्लाभरिकै मुख्य मुख्य व्यापारिक केन्द्र अनि प्रतिष्ठानहरूमा अन्य सम्प्रदायकै प्रभुत्व रहेकोले दार्जीलिङको आर्थिक पकड़ गोर्खाहरूको हातबाट फुत्किसकेको स्पष्ट बताउँछ। दार्जीलिङलाई आफ्नो किपट दावी गर्ने गोर्खाहरूको यहॉं एक अंशमात्रै आर्थिकरूपमा सबल रहेका छन् भने अन्य सबै खेतीपाती, दैनिक हाजिरा तथा साधारण सरकारी कर्मचारीको रूपमा कार्यरत रही गुजारा गरिरहेका छन्।
बुद्धिजीवीहरू गोर्खाहरूको निम्ति यो गम्भीर समस्या रहेको बताउँछन्। किनभने अधिकांश गोर्खा युवाहरूलाई पनि शिक्षित रहॅंदा रहॅंदै पनि आर्थिक स्थिति सबल नभएकोले कुनै व्यापार वाणिज्य शुरू गर्नुको साटो सरकारी कामको निम्ति दौड़धूप गर्नुपरिरहेको छ। पहाड़का व्यापारिक केन्द्रहरूमा पकड़ रहेको कारणले गर्दा अन्य समुदायका युवाहरूलाई भने आफ्नो पैतृक व्यापार वाणिज्य चलाएर पनि परिवार सहजै हॉंक्न सक्ने स्थिति रहेको छ। यही भिन्नताको कारण अन्य सम्प्रदायका युवाहरूको तुलनामा गोर्खे युवाहरू दुर्व्यसन, अपराधको दलदलमा भास्सिँदै गइरहेका छन् भने शिक्षित युवाहरू आफ्नो करियर बनाउने सपनामा बेचिएर राजनैतिक दलहरूको झण्डा समात्न पनि बाध्य भइरहेका छन्।
सरकारी आरक्षण अनि नोकरीः
दार्जीलिङ जिल्लाको बेरोजगार युवाहरूमा गोर्खा युवाहरूकै संख्या अधिक रहेको पाइन्छ। यसो हुनुको मूल कारण गोर्खाहरूको आर्थिक, सामाजिक अनि शैक्षिक धरातल बलियो नरहेको बुद्धिजीवीहरू मान्छन्। योभन्दा मूल समस्या सरकारको आरक्षण व्यवस्थालाई पनि मान्छन् बुद्धिजीवीहरू । एकातिर शैक्षिक अनि आर्थिक धरातल त खुस्किएको छॅंदैछ यसबाहेक अन्य कतिपय अल्पसंख्यक समुदायहरूको निम्ति हुने गरेको आरक्षण व्यवस्थाको कारण पहाड़मा सरकारी नोकरी अनि उच्च अनि निम्न दुवै ओहोदाको सरकारी नोकरीमा गोर्खाहरूको भाग खोसिने गरेको युवाहरूको दीर्घकालदेखिकै गुनासो रहिआएको छ।
दार्जीलिङमा सरकारी उच्च ओहोदाका अधिकारीहरू गोर्खाभाषीको साटो अन्य समुदायकै रहेका छन्। आधिकारिक हिसाबले हेर्दा दार्जीलिङको प्रशासानिक बागडोर पनि गोर्खाहरूको हातबाट फुत्किएर अन्य समुदायको हातमा परिसकेको स्पष्ट भइसकेको पर्यवेक्षकहरू बताउँछन्।
समग्रमा सय वर्षभन्दा लामो समयदेखि राजनैतिक चिह्नारी र सुरक्षाको युद्ध गोर्खाहरूले लड़्दै आइरहेका छन् भने विदेशी तथा देश द्रोहीजस्ता कटु शब्दहरू झेल्दै आइरहेका छन्। यो परिवेशमा वासभूमिको रूपमा मान्दै आइरहेको दार्जीलिङमा पनि गोर्खाहरूको धरातल विस्तारै खुस्किँदै गइरहेकोले सॉंच्चै गोर्खाहरूको भविष्य संकटमा पर्दै गइरहेको भान हुँदछ। प्रत्येकचोटि गोर्खाहरूले गर्ने गरेको आत्मसम्मानको युद्ध यहीबाट शुरू हुने गरेकोले अनि गोर्खाहरूको गढ मानिने दार्जीलिङमै गोर्खाहरूको अवस्था गम्भीर हुँदै गइरहेकोले राजनैतिक नेतृत्व तथा बुद्धिजीवीहरूले यस विषयमा घोत्लिन आवश्यक रहेको सचेत नागरिकहरू बताउँछन्। दार्जीलिङबाटै गोर्खाहरूको प्रभुत्व हराइपठाए विश्वभरिकै गोर्खाहरू शक्तिहीन हुने अनि गोर्खाहरूको अस्तित्व नै संकटमा पर्नजाने पनि सबैको भनाइ छ।
Post a Comment
We love to hear from you! What's on your mind?