सिटोङ, ६ अगस्त (निस) : ‘गोर्खाल्याण्ड के, किन अनि कसरी ?’ - उक्त विषयमाथि आज गोर्खा जनमुक्ति मोर्चा लोवर सिटोङ शाखाको आयोजनामा स्थानिय लोवर सिटोङ एसएचजी भवनमा क्षेत्रका विद्यार्थी एवम् युवाहरुलाई लिएर एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो | जे बी राईको सभापतित्व अनि सभासद रतन थापाको उपस्थितिमा सिटोङ ट्राइबल हाइ स्कूल, सिटोङ ट्राइबल एमएसके, ज्ञान-कुन्ज एकाडेमीलगायत बिभिन्न सरकारी- गैरसरकारी पाठशालाका नानीहरु, उच्च शिक्षाका निम्ति अध्ययनरत स्थानीय युवाहरु साथै अभिभावकहरुसँग शिक्षकहरु अरुणकुमार राई (ट्राइबल जुनियर हाइ स्कूल ), सञ्जीव छेत्री (ज्ञान-कुन्ज एकाडेमी) अनि रामकुमार छेत्री (सिटोङ ट्राइबल एमएसके )द्वारा माथि उल्लेखित विषयमा अन्तरक्रिया सम्पन्न भयो | कार्यक्रममा गोर्खा जातिको भारतीय नागरिकता, त्यसमाथि उठ्नेगरेका विविध प्रश्न, संविधानप्रदत्त अधिकार, जातीय चिन्हारीको संकट, बौद्धिक अनि भौतिक विकासका अवसर अनितीहरुबाट वञ्चित गोर्खा जातिबारे व्यापक रुपमा चर्चा परिचर्चा गरिएको थियो | युनस लेप्चाको स्वागत सम्भाषणबाट शुरु भएको कार्यक्रमलाई सम्बोधन गर्दै सभासद रतन थापाले पनि स्थानीय शाखाको यस बौद्धिक पहललाई सराहना गरे भने जीटीए स्वीकार गर्नु मोर्चाको भुल रहेको स्वीकार गरेर मोर्चा अब निर्णायक आन्दोलनको निम्ति अघि बढेको बताए भने अब गोर्खाल्याण्ड प्राप्त नभइन्जेल आन्दोलन नरोकिने उल्लेख गरे | केन्द्र सरकारको अनुनयमा केहि समयको निम्ति लिइएको जीटीए पनि राम्रोसँग चल्नु नदिने बङ्गाल सरकारको पहाड अनि पहाडका जनसमुदायप्रति दमन अनि शोषण नीति रहेको बताउँदै थापाले भने ‘विकास ठुलो कुरो होइन, अस्तित्व र चिन्हारीको प्रश्न ठुलो हो’ | उक्त बिषयलाई सबैले बुझ्नु आवश्यक रहेको बताउँदै तिनले यस लडाइँमा गोर्खाल्याण्ड बिरोधी दलमा सामेल गोर्खे सन्तानलाई पनि एकपटक राम्ररी सोचेर जाति र माटोको हितमा अघि आइदिने आव्हान गरेका थिए | कार्यक्रममा सिटोङ-एक खण्ड समिति सचिव दिलकुमार राई, उपाध्यक्ष डिगेल लेप्चा, शाखा सभापति सनबहादुर छेत्रीलगायत अन्य मोर्चा पदाधिकारीहरुएवम् बिभिन्न पाठशालाका शिक्षक-शिक्षिकाहरुको उपस्थिति थियो |


Post a Comment