सिटोङ, २३ मार्च (सञ्जीव छेत्री) : सोह्रौं लोकसभा चुनावमा पार्टीद्वारा समर्थित भाजपा उम्मेदवार एसएस अहलुवालियालाई बिजयी तुल्याउने कसरतमा सिटोङ-लाटपन्चर समष्टि अन्तर्गत सिटोङ तीनमा गोर्खा जनमुक्ति मोर्चा शेल्पू-सिटोङ खण्ड समितिको एक सभा स्थानीय रोलक सार्वजनिक भवनमा खण्ड समितिको सभापति जगत थापाको सभापतित्वमा सम्पन्न भएको छ | खण्ड समितिअन्तर्गत एघारवटा शाखाका प्रतिनिधिहरु उपस्थित रहेको उक्त चुनावी सभामा शाखाका प्रतिनिधिहरुले आ-आफ्ना शाखाका प्रतिवेदन पेश गरेका थिए भने वक्ताहरुले आजैदेखि आफ्नो उम्मेदवारका समर्थनमा प्रचारप्रसारतर्फ लाग्नुपर्ने कुरामाथि जोड दिएका थिए | यसअतिरिक्त खण्ड समितिले अहिलेको स्थितिमा गोर्खाल्याण्ड मुद्धालाई प्रमुखता दिंदै राष्ट्रिय स्तरका अनि गोर्खाल्याण्डका पक्षधर नेतालाई नै बिजयी तुल्याउनु आवश्यक रहेको बताएका थिए | बिगतका दिनहरुमा भूमिपुत्र प्रार्थीहरुलाई जिताएर पठाएको भए पनि उनीहरुले संसदमा गोर्खाल्याण्ड मुद्धा उठाउन नसकेको औ पछिल्ला लोकसभा संसद जसवन्त सिंहले मात्र पहिलोचोटी सो मुद्धा सदनमा उठाएको ठोकुवा गर्दै गोर्खाल्याण्डको निम्ति मोर्चाको निर्णय सठीक रहेको सभाले ठहर गरेको थियो | यसकारण मत विभाजित नभई मोर्चा समर्थित प्रार्थी एसएस अहलुवालियालाई नै मत प्रदान गरिदिने अपिल सभाले गरेको थियो | सभामा जगत थापा, सुनिल राई, सन्तबहादुर खवास, बिष्णु राई, पी बी खवास, भविस राई, नामपर लेप्चा, इन्द्रबहादुर राई, गोपाल छेत्री आदिले बक्तब्य राखेका थिए भने सोहि अवसरमा खण्ड समिति स्तरीय चुनावी समिति पनि गठन गरिएको थियो | नवगठित समितिमा सभापति गोपाल छेत्री, उप-सभापति नामपर लेप्चा, सचिव सुनिल राई, सहसचिव निश्चल राई अनि सल्लाहकारहरुमा डी बी खवास, दावाछिरिङ लेप्चा, पेम्बु लेप्चा, जगत थापा अनि बिष्णु राई लगायत जम्मा एकतीस सदस्यहरुलाई चयनित गरिएको छ | सभालाई खण्ड समिति सचिव बिष्णु राईले संचालन गरेका थिए | एक बिज्ञप्तिमार्फत सचिव सुनिल राईले उक्त जानकारी गराएका हुन् |