- जब मुद्दा एक तब दलहरू एक
- प्राधिकरणको कुरा आउनुहुँदैन-क्रामाकपा
- केवल गोर्खाल्याण्डको निम्ति दलीय एकताको कुरा गर्न सकिन्छ-लीग
- आ-आफ्नै झण्डामा मुद्दाको निम्ति काम गर्नुपर्छ-हिल कंग्रेस
- 25 फरवरीदेखि सबैदलहरूसित भेटिनेछ-भागोप
- छैटौं अनुसूची, सेटअपहरूको कुरा आउनु हुँदैन-गोरानिमो
- मुद्दा एकै भएन भने दलीय सहमति बन्दैन-गोरामुसो-सी
कालेबुङ,18 फरवरी। दलहरू भिन्नभिन्न भएपनि गोर्खाल्याण्डको मुद्दा एउटै छ। तर एउटै मुद्दाको निम्ति पहाड़मा अहिलेसम्म दलीय एकता देखापरेन। दार्जीलिङ जिल्लामा मात्र सबैले गोर्खाल्याण्डकै निम्ति राजनैतिक कार्यक्रमहरू गरिरहेका छन्, दिल्लीमा भने सबैको कार्यपदक्षेप एकल नै रहेको छ। केन्द्रले अहिले गोर्खा जनमुक्ति मोर्चासित मात्र मोर्चाको दाबीमाथि कुराकानी गरिरहेको छ तर मोर्चा अन्तरिम प्राधिकरणमा आएर गोर्खाल्याण्ड पुग्ने सिँड़ी निर्माणको निम्ति आन्दोलित रहेपछि मोर्चासित दलहरूको मतभिन्नता बढ़ेर गयो। अहिले एउटै मुद्दालाई लिएर राजनीति गर्नेहरू दुश्मन झैं रहेका छन्। अब राजनैतिक दुरी बनाएर एक्लाएक्लै काम गरिरहेका दलहरूबीच भागोपले सेतुको कार्य गर्ने भएको छ। भागोप अध्यक्षा दिलकुमारी भण्डारीले बिहीबार मोर्चा अध्यक्ष विमल गुरूङसित भेटघाट गर्दै दलीय एकताको निम्ति भागोपले परिस्थिति निर्माण गर्ने कुरा अवगत गराएको जनाइन्। तिनले भनिन्, मूल मुद्दा एउटै हो, तर एकै मुद्दामाथि काम गर्ने दलहरूबीच भने मित्रता छैन। छुट्टै राज्यको दाबीको निम्ति दलीय एकता अनिवार्य रहेकोले भागोपले दलीय मित्रता स्थापित गर्न र सामुहिकरूपले छुट्टैराज्यको निम्ति काम गर्न परिवेश निर्माणको काम गरिरहेको छ। यता विमल गुरूङले पनि भागोपको पहललाई सराहनीय मान्दै कुनै स्वार्थ नबोकी सबै मुद्दाको निम्ति एकठाउँमा आउनुपर्ने कुरामा सहमति दिए। भागोपले 25 फरवरीदेखि पहाड़का जम्मैदलहरूसित भेटघाट गर्ने कार्यक्रम बनाइसकेको छ। जनता पनि सबै दलहरू एकैठाउँमा आएर सामुहिकरूपले आन्दोलन गरेको चहान्छन्, जसलाई वास्तविकतामा परिणत गर्न भागोपले उल्लेखनीय पहल शुरू गर्ने भएको छ। यता भागोपको यसप्रकारको कदमलाई अन्यदलहरूले कस्तो दृष्टिकोणले हेरिरहेको छ त? भन्ने प्रश्न उठेको छ। उठेको यसै सार्वजनिक जिज्ञासालाई ध्यानमा राख्दै अन्यदलहरूको मत जान्न चहॉंदा सबैले भागोपको पहललाई स्वागतयोग्य जनाएका छन्। क्रामाकपा अध्यक्ष आरबी राईसित यसबारे प्रश्न गर्दा तिनले भने, भागोपको कदम सराहनीय छ। उचितसमयमा ठीक काम भागोपद्वारा भइरहेको छ। तिनले अझ भने,यसैपनि भागोपले अलग राज्यको कुरालाई केन्द्रिय शक्तिकोरूपमा अघि लगिरहेकै छ। यो मुद्दालाई सर्वभारतीय सवाल बनाउन भागोपले काम गरिरहेकै छ। भागोपले नै यो काम गर्नुपर्नेथियो, गर्यो। हाम्रो सहमत छ। भागोपको पहलमाथि क्रामाकपाको सहमत हुँदाहुँदै पनि तिनले भागोपको पहल एउटैमात्र मुद्दामा केन्द्रित हुनुपर्ने जनाए। तिनले भने, सबै दलको मुद्दा छुट्टैराज्य बाहेक अरु हुनुहुँदैन। अहिलेसम्मको दलीय विवाद भनेकै प्राधिकरण हो। प्राधिकरणलाई प्रमुख मानियो भने कुनै पनि दलको सहमति हुनेछैन। समग्र भारतीय गोर्खाहरूको चिह्नारी र सुरक्षाको सवालमा सामुहिक आन्दोलनको विकल्प गोर्खाल्याण्डबाहेक अरूथोक हुनुहुँदैन। भागोपले प्रक्रिया शुरू गर्योे, जो दलीय एकीकरण र मुद्दादाबीको शक्ति निर्माणमा अत्यन्तै अनिवार्य पहल हो। सबैदलहरूबीच कुराकानी हुनुपर्छ। दलहरूमा मतभिन्नता हुनैसक्छ, सबैकुरा कुराकानीबाट नै मिल्छ। भागोपले छुट्टैराज्यको मुद्दालाई अघि लैजान दलीयमित्रताको निम्ति पहल गर्छ भने हाम्रो स्वागत छ। यता गोर्खालीगका कार्यकारी अध्यक्ष दावा शेर्पाले पनि भने,भागोपको पहल सराहनीय छ। छुट्टैराज्यको निम्ति हो भने सबैदलहरूबीच सहमतिपूर्ण कार्यक्रमहरूको खॉंचो छ। भागोपले गोर्खाल्याण्डको निम्ति एक हुनुपर्ने कुरा गरिरहेको छ, जो नितान्तै स्वागतयोग्य छ। तर उता विमल गुरूङ र डा.हर्कबहादुर छेत्रीले मोर्चा प्राधिकरणमा नै अल्झिएर बसेको बारम्बार स्पष्ट पार्दै आइरहेका छन्। प्राधिकरणको निम्ति हो भने लीग सहमत हुँदैन। गोर्खाल्याण्डको निम्ति हो भने कुरा गर्न सकिन्छ। तिनले भने, जसको विरोध गर्दा मदन तामङको हत्या गर्यो, त्यसमुद्दाको निम्ति लीगको सहमति हुँदैन तर छुट्टाराज्यको निम्ति हो भने ठीक छ। गोर्खाल्याण्डबाहेक अरूकुरा आउनु हुँदैन। यता गोरानिमोका दावा पाखरिनले भने, सबैको मुद्दा गोर्खाल्याण्ड हो, यसको निम्ति एक हुनुपर्छ। तर छैटौं अनुसूची, सेटअप तथा यस्ता सहमुद्दाहरू आयो भने दलहरू एक हुनसक्दैनन्। दलहरू एक हुनु नसकेको कारण दलहरूबीच नै स्वार्थ भएर हो। गोर्खाल्याण्डलाई छोड़ेर अरुकुरातिर लागेर हो। तरै पनि भागोपले जुन पहल गर्दैछ त्यो सराहनीय छ। जनताले चाहेको कुरा भागोपले गर्दैछ। हिल कंग्रेसका केबी छेत्रीले सोमबार दिल्लीमा कंग्रेसका वरिष्ट नेताहरूलाई अनि गृहमन्त्रीलाई भेट गरेर वर्तमान परिस्थितिमाथि कुराकानी गर्ने बताउँदै भने, सबैले आ-आफ्नो झण्डामा बसेर एउटै मुद्दाको निम्ति सामुहिकरूपले काम गर्न सकिन्छ। दिल्लीबाट फर्किएर आएपछि यसबारे दलको सभा बस्नेछ अनि के गर्नुपर्ने हो निर्णय गर्नेछ। गोरामुमो-सीका कर्णल डीके प्रधानले पनि भागोपको पहललाई सराहनीय मान्दै गोर्खाल्याण्डको निम्ति सबैदललाई एक गराएर सबैसित रहेको अनुभव, ज्ञान र संसाधनहरूको प्रयोग गरेर दिल्लीमा काम गरिनुपर्छ। सबैभन्दा मूल कुरा हो मुद्दा। सबैले केवल गोर्खाल्याण्डलाई मूलमुद्दा बनाउनुपर्यो। बीचमा अरूथोक आयो भने दलीय सहमति बन्दैन। भागोपले यी नै कुराहरू बुझेर नै पहल गरिरहेको लागेको छ। समयसाक्षेप पहल भएको छ। जनताले पनि सामुहिकरूपले आन्दोलन गरेको चहान्छ। दार्जीलिङ, तराई डुवर्स गोर्का-आदिवासी वेलफेयर सोसाइटीका प्रवीण गुरूङले भने, पहल राम्रो छ तर मदन तामङको हत्या गर्ने दलको नेताको नेतृत्वमा बसेर सबैले काम गर्न सक्ला के त? सेटअप छोड़ेर मोर्चा अरू दलसित एक हुन सक्छ के त? मोर्चाले मुद्दा फेरिरहन्छ, मुद्दा फेरेरै मोर्चाले सबैलाई धोका त दिँदैन? सबै स्पष्ट हुनुपर्छ। भागोपको पहल राम्रो छ। यसरी सबैले एकभएर काम गर्न त सकिने तर मुद्दा एउटामात्र हुनुपर्ने जनाएर अहिलेसम्म दलहरू एक हुननसकेको कारण छुट्टैराज्यको नाममा अन्य मुद्दाको वकालत गराइ नै रहेको स्पष्ट भएको छ। यस हिसाबले हेर्नु हो भने मोर्चाले अन्तरिम प्राधिकरणको मुद्दालाई तिलाञ्जली दिइनुपर्ने छ। मोर्चाले भने अन्तरिम प्राधिकरणको कुरा मात्र गरे कुनै पनि दलहरूबीच सहमति नबन्ने स्पष्ट छ। यस्तो कठिन परिस्थितिमा भागोपले दलीय समिकरण कसरी मिलाउने हो अनि भागोपको पहलबाट कसले मुन्टो फर्काएर स्वार्थपरक व्यवहार देखाउने हो त्यो जनताले हेर्ने मौका पाउने पनि स्पष्ट छ।
Post a Comment
We love to hear from you! What's on your mind?