अन्नाले बल्झायो दागोपाप भ्रष्टचारको मुद्दा

कालेबुङ,9 अप्रेल(मनोज बोगटी )
लोकपाल बीलको निम्ति अन्ना हजारेले गरेको पहलले राष्ट्रिय समर्थन पायो। हजारेलाई प्राप्त समर्थनबाट पहाड़ पनि अछुत रहेन। अन्ना हजारेले भ्रष्टचारको अन्त्य हुनुपर्ने सम्बन्धमा राष्ट्रभरिका जनताको ध्यान खिँचे। भ्रष्टचारको विरूद्ध  अन्नाको युद्ध देशभरि फैलिरहेको बेला दागोपापको भ्रष्टचारको कुरा पनि उठिरहेको छ। अन्ना हजारेले आफ्नो युद्दमा जित हासिल गरेपछि यसैबाट प्रेरणा लिएर दागोपापमा भएको भ्रष्टचारको निम्ति लड्न जिल्लाका जनता पनि सड़कमा आउन पर्ने गोरामुमो-सीका अध्यक्ष कर्णल डी.के प्रधानले गरेका छन्‌। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङ पनि दागोपापको भ्रष्टचारको पर्दाफास होस्‌ भन्ने पक्षमा छन्‌। माकपा नेता तारा सुन्दासले लोकपाल बीलले दागोपापमा भ्रष्टचार गर्नेहरूलाई पनि नछोड्ने बताए। क्रामाकपाका जेेबी राईले पनि अन्ना हजारेले गरेको आन्दलनले पहाड़लाई पनि भरपुर फाइदा पुग्ने बताए। उता भागोपका राष्ट्रिय कार्यकारी अध्यक्ष एनोसदास प्रधान पनि अन्नाको प्रयासले क्षेत्रीयस्तरमा भइरहेको भ्र्रष्टचार उन्मुलनमा सहयोगी हुने बताएका छन्‌। अन्ना हजारेले भ्रष्टचार विरूद्ध लोकपाल बील ल्याइनुपर्ने माग गरेपछि दार्जीलिङ जिल्लाका यस्ता कोही मानिस छैनन्‌ जसले दागोपापको भ्रष्टचारको कुरा नगरेको होस्‌। फेसबुकदेखि एसएमएससम्म, फोनदेखि भेटघाटसम्म अन्नासित नै पहाड़मा भइरहेका भ्रष्टचारहरूको चर्चा चलिरहेको छ। कर्णल डी.के.प्रधान भन्छन्‌, दागोपापमा कति राशि आयो र कति सरकारीरूपमा प्रयोग गरियो? यसको हिसाब किताब कहॉं छ ? मिड डे मिलदेखि साक्षारता अभियानसम्म, पञ्चायतदेखि नगरपालिकासम्म भ्रष्टचार नै भ्रष्टचार छ, यसको विरूद्धमा कसले आवाज उठाउने? माकपादेखि गोरामुमो, गोरामुमोदेखि गोजमुमोसम्मले दागोपापमा आएका राशिहरूको दुरूपयोग गरेका छन्‌ तर यसको विरूद्ध आवाज उटाउने जनताको निम्ति सही ठाउँ छैन। करोड़ौको घोटला चलिरहेको छ, तर घोटालाबाजहरू खुल्लमखुल्ला छाती फुकाएर हिँड़िरहेका छन्‌। हजारेबाट प्रेरणा लिएर जनता सड़कमा आए मात्र जनताको पैसा दुरुपयोग गर्नेहरूले सही दण्ड पाउन सक्छन्‌। तिनले गोरामुमोले गरेको भ्रष्टचारको पर्दाफास गर्छु भन्ने गोजमुमोले सबै कार्यालयहरूको घोटला सम्बन्धित सरकारी कागज हात पारिसकेपछि चुपचाप बसेको अनि आफुले पनि गोरामुमो कै राग अलापेको कुरा गर्दै भने, बङ्गाललाई कुनै मतलब छैन। घोटला गर्न दिन्छ अनि त्यसैलाई कमजोरी बनाएर आन्दोलनकारीहरूलाई दुर्बल बनाउँछ। गोरामुमोले गरेको भ्रष्टचारको के कुनै खोजतलास हुँदैन? बीएल मिनाले खुलासा गरेको घोटलाबारे कसैले चासो नलिने? चुपचाप बसेर जुन दल आउँछ उसलाई भ्रष्टचार गर्न प्रेरित गर्ने? अब अहिलेसम्म भ्रष्टचार गर्दै पार्टी चलाउनेहरूको टुप्पी उखेल्न सचेत र शिक्षित समाज अघि आउन पर्छ। यता विमल गुरूङले पनि भने, दागोपापमा प्रशस्त  भ्रष्टचार भएको छ, यसको खुलासा हुनपर्छ। दोषीहरूले दण्ड पाउनपर्छ। दागोपापमा रहेको भ्रष्टचार मात्र होइन, विभिन्न सरकारी निकायहरूमा चलेको भ्र्रष्टचारहरूको पनि खुलासा गर्न बुद्धिजीवीहरूले कार्य गर्नुपर्ने कालेबुङका युवावर्ग पनि बताउँछन्‌। एक युवक डी.के. वाइबाले भने, भ्रष्टचार भनेको जनताको अधिकारमा अवरोध ल्याइने अपराध हो। यस्ता अपराधीहरूलाई दण्ड दिलाउनको निम्ति युवाशक्तिको प्रयोग गरिनुपर्छ। पहाड़मा यस्ता व्यक्ति छैनन्‌ जो भ्रष्टचार मनपराउने होस्‌, यसैकारण अन्ना हजारेले अहिले सबैको आँखा खोलेको एक गृहणी देवीमाया गुरूङ भन्छिन्‌। चुनाउपछि पहाड़मा भइरहेका भ्रष्टचारको विरूद्ध सचेकवर्गले अन्ना हजारेबाट प्रेरणा लिएर आन्दोलन नै गर्नुपर्ने पक्षमा अहिले धेरै नै रहेका छन्‌।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.