एचआईभी पिडीतहरुको आशाको केन्द्र - क्लुनी ग्लेन फेमिली फाउण्डेशन


कालेबुङ/प्रदीप लोहागुन - कालेबुङका क्लुनी सिस्टर्सहरुले एचआईभी पिडीतहरुको निम्ति केयर एण्ड सपोर्ट सेंटरको स्थापना गरेर उनीहरुको उपचार र सेवा मात्र गरिरहेका छैनन तर एड्समुक्त समाज निर्माण गर्ने दिशामा पनि हरसम्भव प्रयास गरिरहेका छन। कालेबुङको आठ माइलमा अवस्थित क्लुनी ग्लेन फेमिली फाउण्डेशनको एचआईभी केयर एण्ड सपोर्ट सेंटर एड्सपिडीतहरुको निम्ति नयाँ जीवन जिउने आशाको केन्द्र हो। एचआईभी चिन्हित भएपछि जीउने उत्साह हराइसकेका कैयौं एचआईभी पिडीतहरुलाई यो सेंटरले नयाँ जीवन मात्र दिएको छैन तर जीवन जिउने सकारात्मक दृष्टिकोण पनि प्रदान गर्दै आईरहेको छ। अष्ट्रेलियाका उदार मानिस ओ एन ग्लेनले आफ्नो ब्यक्तिगत खर्चमा क्लुनी सिस्टरहरुलाई यो भवन स्थापना गर्न जमीन उपलब्ध गराएका हुन। क्लुनी ग्लेन फेमिली फाउण्डेशनअधिनस्थ क्लुनी सिस्टरहरुले बिगत 2007देखि यो केन्द्र स्थापना गरेर सञ्चालन गर्दै आइरहेका छन। यस केन्द्रमा एचआईभी पिडीतहरुको निम्ति स्वस्थ्य सेवालगायत पौष्टिक आहार र आवासको व्यवस्थासमेत गरिएको छ।परिवार र समाजबाट अवहेलित र तिरस्कृत भएका एचआईभी पिडीतहरु ग्लेन फेमिलीको वातावरणमा आफूलाई स्वस्थ्य र सुरक्षित अनुभव गर्छन। पहाडलगायत सिक्किम, डूवर्स, नेपाल र समतलका कैयौं रोगीहरुले आफ्नो शेष जीवन यो सेंटरका सिस्टरहरुबाट पाएको उत्साहजनक व्यवहार र प्रेमपूर्ण स्पर्शले सामान्य मानिसहरुले झैं बिताइ रहेका छ्न। पहाडमा आवासीय सुबिधा भएको यो एक मात्र केयर सेंटर हो। सरकारी सहयोगको अभावमा पनि सिस्टरहरुले आफ्नो यस महत परियोजनालाई जीवित राखेका छन। अर्थ अभावको कारण यो केन्द्र सञ्चालन गर्न सिस्टरहरुलाई धेरै चर्को परे पनि एड्स जस्तो भयवह रोगका शिकार बनेका मानिसहरुको उपचार र सेवा गर्ने भावनामा भने कमी आएको छैन। यस रोगका पिडीतहरुले अझै पनि आफ्नो परिवार र समाजबाट अवलेहित र भेदभावको सामना गर्नु परेको सिस्टरहरुको भनाई छ। भर्खर मात्र समाजमा यस रोगबारे फैलिएको जड धारणामा केही परिवर्तन देखा परेको उनीहरु बताउँछ्न। हाल दार्जीलिङ पहाडमा अनुमानित 559 जना यस रोगले ग्रस्त छन भने कालेबुङमा मात्र 117 जना एचआईभी संक्रमितहरु रहेको यस रोगका विशेषज्ञहरुले बताएका छन। पहाडमा 80% मानिसहरु असुरक्षित यौन सम्पर्कको कारण यस रोगको चेपटमा पर्ने गरेको तथ्य छ भने रहल 15% मामिला दुर्व्यसनीहरुद्वारा एकापसमा प्रयोग गरिने इञ्जेक्शनको कारणले पाइएको छ। रहल 5%  संक्रमित अभिभावकबाट हुने बच्चाहरुमा पाएको छ।यस भयवह रोगको पूर्ण रुपले उपचार त सम्भव छैन तर नियमित औषधिको सेवन गरेर यसलाई नियञ्त्रण गर्न सकिन्छ अनि एउटा सामान्य जीवन जिउन सकिन्छ। कैयौ एड्स रोगीहरुलाई सामान्य जीवनतिर डोहोर्‍याउन र जीवनदेखि हारेर मृत्युतिर लम्किरहेका मानिसहरुलाई ग्लेन फेमिली फाउण्डेशनले नयाँ जीनव जिउन प्रेरित पनि गरेको छ। यस संगठनले एचआईभी पिडीतहरुको सुरक्षा, हकहित र उनीहरुको सामाजिक मान्यताको दिशामा समेत काम गरेर मानवीय मूल्यको रक्षा मात्र गरिरहेको छैन तर विश्व एड्स दिवसको अवसरमा एक दिन जागरुकतामूलक कार्यक्रम गरेर प्रचारमा आउन चहाने कथित समाजसेवीहरुलाई पनि यस मामिलाप्रति गम्भीर बन्ने सन्देश दिएको छ। यस सेंटरको उपचार र सेवा पाएर सामान्य जीवन बिताइरहेका एचआईभी पिडीतहरुले पनि कालेबुङ सोसाइटी फर पोजेटिभ पिपलको गठन गरेर यस रोगको रोकथामको दिशामा जनजागरुकता फैलाउने कार्य गरिरहेको छ। यस संस्थाका कार्यकर्ता डेनी भुटियाले यसबारे जानकारी दिएका छन।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.