गोजमुमो गोर्खाल्याण्ड,जीटीए हुँदै पुन: गोर्खाल्याण्ड सम्म

कालेबुंग/डी० के० वाइबा : छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन घोषणा गरेर ७ अक्टोबर २००६ मा पहाडमा नयाँ शक्तिको रुपमा देखा परेको गोर्खा जनमुक्ति मोर्चा १८ जुलाई २०११ मा जीटीएमा पुगेर थामिएको छ | पहाडमा सुबास घिसिंगको शाशनबाट वाक्क भएका मानिसहरु गोजमुमोको आन्दोलनमा सरिक भएर आन्दोलनमा ओर्लिए | यसै बिच थुप्रै राजनैतिक उतार चडाउ भयो | गोरामुमो र गोजमुमो समर्थकहरु माझ झडप पनि भयो | सोही समय दार्जीलिंगमा प्रमिला शर्माले ज्यान गुमाईन् | छुट्टै राज्यको सपना सजाएर अनेकौ सडकमा ओर्लिए | यस आन्दोलनले सबै प्रकारका मानिसहरुलाई प्रभावित पार्यो | के, वृद्ध ,के बाल सबै सडकमा ओर्लिएर गोर्खाल्याण्डको अवाज चर्काउन पछि परेनन् | नारा,जुलुश,धर्ना,भोक हड्ताल सबैमा जनताको व्यापक सहभागिता देखेर अन्तत: गोर्खाल्याण्ड माग्ने दल गोजमुमो, राज्य सरकार र केन्द्र सरकार माझ त्रिपक्षीय वार्ता शुरु भयो | आन्दोलन पहाडदेखि तराई र डुवर्स पुग्यो | भूतपूर्व सैनिकहरुले रगत बगाउनु पर्यो, हजारौ बेघर बने मान्छेको बस्तीमा डडेलो सल्कियो | धाराबाहिक त्रिपक्षीय वार्ताले कुनै निष्कर्ष निकाल्न सकेन | सोही क्रममा लोक सभा चुनावले दार्जीलिंग पहाडमा चुनावी राजनीति शुरु भयो | गोर्खाल्याण्डको मुद्दा संसदमा पार लाउन पहाडबाट हेबीवेट भाजपा नेता जसवन्त सिंहले रेकर्ड भोट जितेर गए | त्यसपछि बङ्गालमा सत्ता परिवर्तन संगै दार्जीलिंगलाई गोर्खाल्याण्ड होइन " स्वीजरल्याण्ड" बनाइदिन्छु भनिन् मुख्यमन्त्री ममता ब्यनार्जीले | १८ जुलाई २०११को दिन पिन्टेल भिलेजमा मोर्चा, राज्य सरकार अनि केन्द्र सरकार माझ गोर्खाल्याण्ड टेरिटोरीयल एडमिनिसट्रेसन (जीटीए) मा सम्झौता भयो | पहाडमा बिकाशको मूल फुट्ने र शान्ति स्थापना भयो भन्दै पटेका पड्कियो अनि हर्सोल्लास मनाइयो | तर अहिले त्यही जीटीए कार्यनवय नहुँदा पहाडमा पुन असन्तुष्टि बढ्दै गइरहेको छ | जसको फलस्वरूप युवा मोर्चाले पुन: छुट्टै राज्य गोर्खाल्याण्डको शंखघोष गरेको छ | एकातिर मोर्चाका उच्च पदस्थ नेताहरु जीटीए यथासिग्रह लागु गराउन राज्य र केन्द्रमा दौड धुप गरिरहेका छन् भने अर्कोतिर मोर्चा कै भात्री संगठन युवा मोर्चा भने छुट्टै राज्य प्राप्तिको निम्ति आन्दोलनको शंखनाद गरेर मैदानमा ओर्लेको छ | हिज मंग्पू जन मैदानमा आयोजित जनसभाबाट युवा मोर्चाले अब युवाहरु प्रावधिक र बौधिक आन्दोलन लड्ने घोषणा गरेको छ | युवा मोर्चाले छुट्टै राज्य प्राप्तिको निम्ति आन्दोलनलाई काँधमा लिंदै मैदानमा ओर्लेको घोषणा गरेपनि पहिलो चरणमा केवल र्याली र जनसभाहरु गर्ने घोषणा गरेको छ | युवा मोर्चाको उक्त जनसभा केन्द्रित छुट्टै राज्यको आन्दोलन कतिसम्म प्रभावशाली बन्ने हुन् भन्न नसकेपनि यस सम्बन्धमा मोर्चा प्रमुख बिमल गुरुङको मौनता खुबै चासोको विषय बनेको छ | युवा मोर्चाले आन्दोलनको घोषणा गरेपनि मोर्चा प्रमुख कै निर्देशनमा नै गर्ने पनि घोषणा गरेको छ | तर यता मोर्चा प्रमुख गुरुङले भने युवा मोर्चाको आन्दोलन बारे मुख नखोल्नु कतै आन्दोलनको बहानामा जीटीए भित्राउने राजनैतिक चलखेल त होइन भन्ने विश्लेषकहरु बताउछन् | अहिले पहाडमा जीटीए लागु नभएको कारण बिस्तारै मोर्चा भित्र नै असन्तुष्टि बढ्दै गइरहेको छ | तराइ डुवर्सको भू- भाग जीटीएमा हुनपर्ने दाबी गरे पनि उक्त भू - भागको जाँच गर्ने हाई पावर कमिटिको बैठक बारम्बार बिफल भएको कारण थप असन्तुष्टि बढिरहेको छ | हाई पावर कमिटिको बैठक निष्कर्षहीन बन्नु जीटीए लम्बाउने प्रयाश हो भन्ने पनि राजनैतिक विश्लेषकहरु बताउछन् | यस्तो अवस्थामा सरकारलाई दबाउ दिन मोर्चाले युवा मोर्चालाई ढाल बनाएको सचेतकहरु बताउछन् | 

एकातिर जीटीए गठनमा बिलम्ब बन्दै गइरहेको छ भने अर्कोतिर पहाडका विपक्षी दल क्रामाकपा अनि भागोपले जीटीएको सम्झौता खारेज गर्नुपर्ने माग चर्किंदै आइरहेको छ | यता राज्य कै विपक्षी दल माकपाले पनि जीटीएको बीलमा हस्ताक्षर नगरी दिने राज्यपाल समक्ष अनुरोध गरेको छ | यस्तोमा राज्य सरकारलाई दबाउ बनाउन मोर्चाले युवा शक्तिलाई माध्यम बनाएको राजनैतिक सचेतकहरुको भनाई छ | अहिले छुट्टै राज्यको मागलाई राष्ट्रव्यापी बनाउन भागोपले गोर्खाल्याण्ड टास्क फोर्स गठन गरेर कार्य शुरु गरेको छ | यता दार्जीलिंगको शक्तिशाली विपक्षी दल मानिने क्रामाकपा पनि दिल्ली मुखी कार्यक्रम बनाएर सडकमा खुल्ला जीटीएको विरोध गर्दै निस्केको छ | यसबारे भागोप र क्रामाकपाको उक्त कार्यक्रमलाई पार्टीको अस्तित्व बचाउने राजनैतिक खेल रहेको गोजमुमोले आरोप लगाईरहेको भएपनि जीटीए बिरोध नगर्ने खुल्ला चुनौती दिईरहेको छ | मोर्चालाई जीटीएको टिप्पणी गर्ने दलहरुलाई किन चुनौती दिदै आन्दोलनमा ओर्लिन पर्यो भन्न नसकेपनि वास्तवमा यो जीटीएलाई जतिसक्दो लागु गराउने मोर्चाको रणनीति रहेको वर्तमान राजनैतिक परिस्थितिलाई गहिरो अध्ययान गरिरहेका विश्लेषकहरु बताउछन् | 

गोजमुमो पार्टीको युवा एकाईले पुन: छुट्टै राज्यको आन्दोलनलाई अघि बढाउने घोषणा विपक्षी दलहरुलाई शक्तिशाली बन्न नदिने सुयोजित खेल त होइन भन्ने पनि अहिले अड्कलबाजी शुरु भएको छ | यति मात्र होइन छुट्टै राज्यको माग गर्दै अहिले अर्को शक्ति नयाँ राजनैतिक पार्टी खोलेर मैदानमा ओर्लिने तरखरमा रहेको सुत्रले बताएको छ | उक्त दल अहिले विभिन्न रणनीति बनाउन गोप्य बैठकहरु गरिरहेको सुत्रले बताएको छ | सम्भवत: २०१२ को जनवरी पहिलो सप्तामा देखा पर्ने उक्त नयाँ दलको रणनीति विफल पर्न पनि युवा मोर्चाले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन घोषणा गरेको सुत्रको भनाइ छ | नयाँ वर्षमा राजनैतिक मैदानमा घोषणा गरेर निस्कने उक्त नयाँ दलको नेतृत्व कसले गर्ने हो अहिले नै खुलासा नभएपनि एघार वर्ष जेल बसेर निस्केका जीएलओ प्रमुख छत्रे सुब्बा माथि मानिसहरुले शंका गरिरहेको छ | हुन त केहिदिन अघि मात्र छत्रे सुब्बाले आफू अहिले नै राजनीतिमा नआउने बताएका थिए तर राजनैतिक जीवन त्याग्ने भने घोषणा गरेका छैनन् | यसका साथै कालेबुंग कै युवा नेता अजय दाहाल, दावा शेर्पा आदिको नामहरु पनि अघि आइरहेको छ | यी सबै कुराहरुलाई ध्यांनमा राख्दै गोजयुमोको आन्दोलन मोर्चाको आफ्नो रणनीति रहेको मानिसहरुले अनुमान लगाईरहेको छ |
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.