मंग्पू | केशर मोक्तान: भान्सा कोठाको भित्ता , खिड्की र बाथरूमका भित्ताहरुमा झुन्डिएका परिवारका सबै सदश्यका फोनहरुले बताउँछ नेटवर्क छ कि छैन यो गाउँमा | हप्ता दिन मोबाइल नेटवर्क नहुनु साह्रै ठूलो कुरा होइन यस गाउँलाई | महिनौ दिनसम्म नेटवर्कको प्रतिक्षामा बसेका गाउँबासीहरुको यस्तो स्थिति छ यहाँ | समस्या हो मंग्पूको एउटा विभाग लाब्दाको | प्रतिस्पर्दाको युगमा पनि अहिलेसम्म यस गाउँका बासिन्दाहरु एउटा फोन गर्न परे डांडा काँडा खोज्नु पर्छ जहाँबाट कालेबुंग दुर्बिन र डेलोका मोबाइल टावरहरु भेटिन्छ | केही वर्ष अघि लाब्दा विभाग पारिपट्टि सिटोंग सेल्पूमा एयरसेल कम्पनीले टावर राखेता पनि लगातार भइरहने गडबडीले उपभोक्ताहरु निराश छन् | हप्ता देखि महिना सम्म नै नेटवर्क हुँदैन यस भेकमा | कसले बोल्ने ? कसले हल गर्ने यो समस्या ? कसैलाई थाहा छैन |
एयरसेल र भोडाफोन बाहेक अरु कुनै मोबाइल नेटवर्कको एक काँटी सिग्नल सम्म पाइन्दैन यस भेकमा भने मोबाइल हुनेले दुइटा सिम कार्ड नराखी हुँदैन | भोडाफोन र एयरसेल | भोडाफोन कम्पनीको टावर पनि बागगौडा - एक ब्लक क्षेत्रमा लगाइएकोले एकदुइ काँटी आउने नेटवर्कले भएपनि फोन र मालिकको इज्जत ढाक्ने काम गरिरहेको छ | नेट्वर्क भेटिने विशेष स्थानहरु बाथरूमका भित्ता या त सिकुवाको भित्ता तिर फोन झुन्डाएर घरका मान्छेहरु ढुक्कै घरभित्र काम गर्दा धेरै पल्ट मोबाइल चोरी समेत भएको घट्नाहरु कम छैनन् |
पीएचई विभागले छोडेको पानी जस्तो बिहान नौ बजे नेट्वर्क सर्वाह भएर गडबडी हुँदै - चल्दै राति ९ बजेपछि काटिने गरिन्छ एयरसेलको नेटवर्क | कम्पनीले नै यस प्रकारको तालिकामा नेटवर्क छोड्नु भनेको हो कि टावरमा काम गर्ने कर्मचारीले यसरी नेटवर्क छोडेको कसैलाई थाहा छैन | यस विभागका बासिन्दाहरु गनगनिनु सिवाय अरु केही गर्न नै सकिरहेको छैन |
लाब्दा विभाग मंग्पू क्षेत्र कै सबै भन्दा पछौटे विभाग भन्न कुनै गाह्रो पर्दैन, शैक्षिक विभाग होस् या कुनै बिकाशको क्षेत्रमा |अहिलेको फेसबुक र ट्वीटरको युगमा इन्टरनेटलाई ज्ञानको कुन्ज मानिएपनि यस क्षेत्र इन्टरनेट उपभोग गर्न त अर्कै कुरा अहिलेसम्म मोबाइलको नेटवर्कको पनि राम्रो उपभोग गर्न नसकेको जनगुनासो छ |
सिटोंग - सेल्पूको नेटवर्कमा यत्रो गडबडी हुँदा लाब्दा विभाग भित्र नै किन मोबाइल टावर नराखिएको भन्ने कुरा बुज्दा थुप्रै मोबाइल कम्पनीहरु टावर राख्न जमीन हेर्न आए पनि सिन्कोना बगानको जमीनमा यस्तो टावर राख्न नपाइने कुरा सुनाउछन् गाउँबासी | यस्तोमा टावर राख्न नपाइएपछि के हामी बगानबासीले त्यसो भए मोबाइलको सेवा उपभोग गर्न नपाइने ?? भन्ने रीसको आवेगमा उल्टा प्रश्न तेर्साउने गरेका छन् अचेल यहाँका गाउँबासी |
यसर्थ सम्बन्धित विभागले यस विषय माथि झट्टै ध्यान दिएर नेटवर्क सुचारु गर्न आवश्यक पहल गर्नु पर्ने उपभोक्ताहरुले माग गरेका छन् |
साथै यस समस्यालाई लिएर मोबाइल नेटवर्क कम्पनी मात्र नभएर हरेक संघ संस्था अनि राजनैतिक पक्षबाट पनि सकेसम्म समस्याको हल गर्ने उपाय सोच्न पर्ने भएको बुझिन्छ |
Post a Comment