फेस्बूक, ट्वीटर र वाट्सएपको जमानामा इन्टरनेटलाई नै ज्ञानको भण्डार मानिन्छ भने मंग्पूको लाब्दा बिभागका मानिसहरुले मोबाइल टावर नहुनुको कारणले अहिलेसम्म इन्टरनेट चलाउनदेखि बन्चित रहेका छन् | इन्टरनेटले बिधार्थीहरुदेखि लिएर साधारण मानिसहरुसम्मलाई विभिन्न विधामा फाइदा पुराइरहेका हुन्छन् | इन्टरनेटकै मध्यमबाट देश – विदेशका बर्तमान राजनीति,संगीत,साहित्य,खेल जेको पनि समचारहरु चाँडो गरेर थाहा पाउन सकिन्छ, घरबाट नै रेलको टिकट बुकिंग, ब्यान्किंग,सेटलाइट डीस टिभी आदिको अनलाइन रिचार्ज देखि लिएर घरदेखि टाडा देश – विदेशमा बसेर काम गर्नेहरुलाई, सेनामा कार्यरत मानिसहरुलाई अचानक चाहिएको कागज पत्रहरु पठाउन – प्राप्त गर्न इन्टरनेटको महत्वपूर्ण भूमिका रहन्छ | तर देशमा मोबाइल इन्टरनेटको “फोर जी “ र “थ्री जी “ सेवाहरु चलिसक्दा पनि लाब्दा विभागका मानिसहरुलाई इन्टरनेट चलाउन परे मंग्पू बजार आएर इन्टरनेट क्याफे तिर गएर चलाउन पर्ने बाध्यता अझै पनि चलिरहेकै छ | अहिलेसम्म यहाँ कुनै पनि मोबाइल कम्पनीका एउटै पनि टावरहरु स्थापित गरिएको छैन | केही वर्ष अघि लाब्दादेखि पारी सेल्पू र घलेटारमा एयरसेल तथा केही महिना अघि रिलायन्स कम्पनीको टावर जडान गरिए पनि एयरसेलको “ टू जी इन्टरनेट” सेवा एक्दमै धिमा चल्ने, प्राय: जसो नेटवर्क नै नआउने अनि बेलुकी भएपछि कसैलाई कल गर्न परे अथवा बाहिरबाट कल गर्दा पनि नेटवर्क बिजी देखाउने समस्या रहेको छ | यस्तो नेटवर्कमा महिना भरि पुग्ने दुई – तीन जीबीको इन्टरनेट प्याक रिचार्ज गर्दा इन्टरनेट चल्दै नचलेकोले एक सय एमबी डाटा पनि प्रयोग नगरी रिचार्जको भ्यालिडीटी तुर्ने गरेकोले पैसा त्यसै लुटिएको गुनासोहरु स्थानीय मानिसहरुले सुनाउने गरेका छन् | अर्कोतिर त्यहाँको रिलायन्स कम्पनीको टावरबाट रोमिंग नेटवर्क आउने गरेकोले यसबाट इन्टरनेट चल्ने सवालनै छैन | यस्तो समस्याहरुले गर्दा लाब्दा विभागका मानिसहरुले इन्टरनेट चलाउनु अनि मोबाइल फोनमा बात गर्नु दिनदिनै जटिल समस्या बन्दै गइरहेको छ | प्राय: दश हजार भन्दा ज्यादा जनसंख्या रहेको लाब्दा बिभाग अझै पनि मोबाइल चलाउनलाई डांडा – काँडा खोज्नुपर्ने अवस्था कसैबाट लुकेको छैन | पाँचवटा विभाग रहेको मंग्पूमा लाब्दा विभाग सबै बिभागहरु मध्ये त्यसै पनि हरेक क्षेत्रमा सबैभन्दा पछौटे बिभाग मानिन्छ भने यस्तै स – साना तर महत्वपूर्ण सुविधाहरुदेखि बन्चित रहनु परेको कारणले नै पछौटे रहनुपरेको सत्यता सचेत तथा बुजुर्ग मानिसहरु बताउछन् | त्यसै पनि लाब्दा बिभाग वरिपरिका क्षेत्रहरु पनि अन्य बिभागतिर जस्तो कुनै शहर – बजार नभएकोले यहाँका मानिसहरुलाई मोबाइल नेटवर्क पाउन गाह्रो परिरहेको छ | समस्यालाई नियालेर हेर्दा मंग्पू सिन्कोना प्लान्टेशनको जमीन भएकोले गर्दा कुनै पनि मोबाइल टावर, ब्यांक आदि स्थापित गर्दा सरकारबाट एनओसी पाउन कठिन हुने गरेकोले नै यहाँ बिकाशको कार्यहरु हुन नसकेको साथै मोबाइल टावरहरु सबै बजारमा खासमहलको जमीनमा स्थापित गरिएको थाहा लागेको छ | यस्तो अवस्थामा के अब लाब्दा बिभागका मानिसहरुले मोबाइल – इन्टरनेट सेवा प्राप्त गर्न सकिंदैन त ? भन्ने प्रश्नहरु खट्किन्छ | सिन्कोनाको जमीनले नै साधारण जनतामा यस्तो ज्ञानवर्धक सुविधाहरुदेखि बन्चित गराउदैछ भने अब सिन्कोना बिभागले नै यस्तो समस्यामा नजर घुमाएर समाधान निकालिदिनु पर्ने समय आएको बुझिन्छ | यता साधारण जनताले भने यदि कुनै पनि मोबाइल कम्पनीले लाब्दा बिभागमा टावर जडान गरिदिए कम्पनीलाई भरपूर फाइदा मात्रै नभएर जनहितको काम हुने थियो भनी अपिल गरेका छन् ||
मोबाइल टावर नभएकोले लाब्दाका मानिसहरु अहिलेसम्म इन्टरनेट चलाउनदेखि बन्चित
21Apr2015
Post a Comment