फेरि जन्मियो मोर्चामा शंका

मुद्दामा मोर्चा स्पष्ट हुनुपर्छ-विपक्ष


From KALIMNEWS:कालेबुङ,15 फरवरी। राज्यपाल एम. के नारयणनले केहीदिन अघि मात्र राष्ट्रिय मिडियाद्वारा मोर्चाले अन्तरिम प्राधिकरणमा सहमति जनाइसकेर पनि फेरि किन भाका फेरिरहेको छ भन्ने प्रश्न तेर्साएका थिए। यता मोर्चाले अन्तरिम प्राधिकरणको च्याप्टर क्लोज गरेको भएपनि पक्कापक्कीरूपले यो मुद्दालाई मोर्चाले तिलाञ्जली नदिएको मोर्चा शिविरबाट नै आइरहने टिप्पणीहरूले स्पष्ट पारेको छ। मोर्चाले पहाड़मा अन्तरिम प्राधिकरणको च्याप्टर सधैँको निम्ति क्लोज गरेको जनाए पनि दिल्ली वार्तामा मोर्चा टोलीले यसै मुद्दामा ड्राफ्ट बनाउने सहमति दिएर आए। तर मोर्चाकै केन्द्रिय समितिको बहुसंख्याले प्राधिकरण नमानेपछि आखिरमा अन्तरिम प्राधिकरणको मुद्दालाई त्यागेको मोर्चाले स्पष्ट पारेको थियो। मोर्चाले नै तर क्लोज गरेको प्राधिकरणको च्याप्टर घरि खोल्दै घरि बन्द गर्दै आइरहेकोले दलहरूले मोर्चाको वास्तविक अड़ानको चुरो भेट्‌न सकिरहेका छैनन्‌। हिजो मात्र पनि कुमानीमा राष्ट्रिय मिडियालाई मोर्चा अध्यक्षले अन्तरिम प्राधिकरणको मुद्दा मोर्चाले क्लोज पनि नगरेको ओपन पनि नगरेको वा प्राधिकरणको कुरामा मोर्चाको हॉं पनि नरहेको ना पनि नरहेको कुरा गरेर केन्द्रबाट चालिने पदक्षेप अनुसार दलीय अड़ानमा फेरबदल गरिरहने अवसरवादी रणनीति अप्नाएको स्पष्ट पारिएको छ। तराई र डुवर्स संलग्न रहेको प्राधिकरण दिन्छ भने थाप्ने मोर्चाको आन्तरिक निष्कर्ष हो कि भन्ने लख पनि काटिएको छ। जे भए पनि मोर्चा मुद्दामा स्पष्ट हुनु नितान्तै अनिवार्य देखापरेको छ। किन भने प्राधिकरण नै थाप्ने हो भने पनि यसले जन्माएको शंका, विवाद र वैधानिकताबारे जनता र दलहरूलाई स्पष्ट पारिनु अनिवार्य छ। नत्र थापेर पनि झगड़ा र मनोमालिन्यको आखड़ा स्थापित हुने हो र अर्को शक्तिलाई गर्भ प्रदान गर्नु हो भने यस्तो प्राप्तिको राजनैतिक महत्व रहनेछैन। यता शुरूदेखि नै मोर्चाको अन्तरिम प्राधिकरण तथा गोर्खाल्याण्ड बाहेक पनि अरू सह मुद्दाहरूलाई लिएर विरोध गरिरहेको गोर्खालीगका कार्यकारी अध्यक्ष दावा शेर्पाले मोर्चा मुद्दामा स्पष्ट नै नरहेको जनाएका छन्‌। तिनले भने, राज्यपाल जस्तो आधिकारिक व्यक्तिले मोर्चाले प्राधिकरणमा हस्ताक्षर गरिसकेर पनि नचॉंहिदो कार्यक्रम गरिरहेको भनेर आरोप लगाउनुले स्पष्ट पार्छ कि मोर्चाको भित्रीखेल के हो। दिल्लीमा मोर्चासित नै वार्तामा बसेका मन्त्रीहरूले मोर्चाले गरिएको सम्झौतालाई उलङ्घन गरिरहेको आरोप लगाउनु भनेको के हो? वास्तविकता के हो त्यो मोर्चाले सबैलाई जनाउनुपर्छ। यता लीगकै प्रताप खातीले भने, हामीले मोर्चाले प्राधिकरण छोड्यो भन्ने सोंचेका थियौं यसैकारण भागोपले सामुहिक आन्दोलनको निम्ति दलीय एकताको परिवेश बनाओस्‌ भन्ने चाहिरहेका थियौं तर कुमानीबाट अन्तरिम प्राधिकरणमाथि विमल गुरूङको गरेको दोधारै कुराले स्पष्ट पार्‍यो कि मौका पायो कि प्राधिकरण भनिहाल्ने विचारमा मोर्चाले राजनीति गरिरहेको छ, जब कि जनताले प्राधिकरण अस्वीकार गरिसकेको छ। मोर्चा मुद्दामा स्पष्ट हुनुपर्छ। गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाका अध्यक्ष दावा पाखरिनले पनि भने, जबसम्म कुनै पनि दलमा केवल एउटा मात्र मुद्दा हुँदैन तबसम्म उसित कुनै पनि विचार मिल्दैन। सामुहिक आन्दोलनको निम्ति विचार, रणनीति, योजना, लक्ष्य र कटिबद्धता मिल्नुपर्छ। यस्तो हुन नै सकेको छैन। तिनले सामुहिक आन्दोलनको निम्ति ठूलोदल रहेकोले मोर्चा नै अघिसरा हुनुपर्ने पनि जनाए। यता क्रामाकपाका मोहन पौड्यालले पनि भने, क्रामाकपाले जति पनि कार्यक्रम गर्‍यो एउटै मुद्दा गोर्खाल्याण्डको निम्ति गर्‍यो। लक्ष्य एउटा राखेर यतिवर्ष यो मुद्दा र उति वर्ष यो मुद्दा भनेर आन्दोलन गरिन्न। एउटै मुद्दामाथि सामुहिकरूपले लगातार आन्दोलन हुनुपर्छ। विसाउनीहरू आउन थाल्यो भने आन्दोलनको रफ्तार घट्‌छ। तिनले अझ भने, मोर्चाले प्राधिकरण नै मात्र थुप्रैपल्ट खारेज गरिसक्यो। हिजै मात्र फेरि मोर्चा फ्राधिकरणको निम्ति हो भने हॉं पनि नभनेको ना पनि नभनेको स्थितिमा रहेको दोधारे कुरा गरेर मोर्चाको दलीय अड़ानलाई स्पष्ट पारेको छ। मोर्चा मुद्दामा स्पष्ट हुनुपर्छ। दलीय एकता र सामुहिक संघर्षको सवाल त्यतिबेला आउँछ जतिबेला दलीय मुद्दा एउटा बन्छ। हामीले त भनिसकेका छौं मोर्चाकै नेतृत्वमा सामुहिकरूपले आन्दोलन गरौं। तर खै त मोर्चाबाट पहल भएको? मिडियामा भनेर मात्र सामुहिकताको कुरा आउँदैन, यसको निम्ति आधिकारिक दलीय बैठक, विवेचना, छलफल हुनुपर्छ र नीति समिकरण र कार्यनीतिक पदक्षेप ग्रहण गरिनुपर्छ।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.