19,नोभेम्बर/कालेबुङ/प्रदीप लोहागुन :- कालेबुङ नगरपालिका चुनाउमा निर्विरोध बिजयी हुने मोर्चाका 23 जना प्रार्थीहरुलाई आज बिजयी प्रमाण पत्र प्रदान गरियो। महकुमा अधिकारी एल एन शेर्पाले आफ्नो कार्यालयमा निर्विरोध जीत हासिल गर्ने कूल 23मध्ये 22 जना मोर्चा उम्मेद्वारहरुलाई प्रमाण पत्र प्रदान गरे। यस अवसरमा कालेबुङ नगरपालिका बोर्डका भावी अध्यक्ष एल बी परियारको मात्र उपस्थिति थिएन। आगामी 11 दिसम्बरमा मिरिक नगरपालिकाको पाँचवटा वार्डहरुको निम्ति चुनाउ सम्पन्न भए पछि मात्र पहाडका चारैवटा नगरपालिकाहरुमा नगरपालहरुको सपथ ग्रहण र बोर्ड गठनको औपचारिकता पूरा हुने कालेबुङका महकुमा अधिकारी एल एन शेर्पाले बताएका छन। सपथ ग्रहणको कार्यक्रम सम्भवत आगामी 20 डिसम्बरमा हुन सक्ने उनको अनुमान छ। दार्जीलिङ र खरसाङ नगरपालिकाका निर्विरोध बिजयी उम्मेद्वारहरुलाई शुक्रबार नै बिजयी प्रमाण पत्र प्रदान गरिएको थियो। सबै भन्दा कम वार्ड भएको मिरिक नगरपालिकाको कूल नौवटा वार्डहरुमध्ये पाँचवटा वार्डहरुमा निर्दलीय प्रार्थीहरुले मोर्चा प्रत्याशीहरुलाई चुनावी प्रतिस्पर्धाको लागि चुनौति दिएका छन। मिरिक नगरपालिकाबाट कूल 8 जना निर्दल प्रार्थीहरुले नामांकन भरेका थिए तर हिजो नामांकन फिर्ता लिने अंतिम दिन तीन जना निर्दलीय प्रार्थीहरुले आफ्नो नामांकन फिर्ता लिएपछि अब 5 जना उम्मेद्वारहरुले मोर्चा प्रार्थीहरुलाई टक्कर दिनेछन।
यता, मोर्चा प्रार्थीहरु नगरपालिका चुनाउमा निर्विरोध बिजयी भएको अवसरमा मोर्चाको कालेबुङ शाखाले आज बिजय उत्सव पालन गर्यो। मोर्चा समर्थकहरुले महकुमा कार्यालयबाट डम्बरचोकसम्म बिजय जुलुश निकालेका थिए भने जुलुश डम्बरचोकमा आएर धन्यवाद कार्यक्रममा परिणत भएको थियो। जहाँ मोर्चाको केन्द्रीय प्रवक्ता तथा क्षेत्रिय विधायक डा हर्कबहादुर छेत्री,शाखा अध्यक्ष सरिता राई, प्रचार-प्रसार सचिव कुमार चामलिङ आदिको विशेष उपस्थिति थियो। बिजय उत्सवको सभालाई सम्बोधन गर्दै पार्टी प्रवक्ता डा हर्कबहादुर छेत्रीले पूर्व आईएएस आधिकारी ललित परियारको नेतृत्वमा गठन हुने नगरपालिकाको नयाँ बोर्डले नगरवासीको आकांक्षा अनुरुप काम गर्ने आशा ब्यक्त गरे।
Post a Comment
We love to hear from you! What's on your mind?